बस्तीमा शुद्ध खानेपानी र सरसफाइको कमीले नै सप्तरीमा हैजा फेलिएको पुष्टि

कार्तिक २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
बस्तीमा शुद्ध खानेपानी र सरसफाइको कमीले नै सप्तरीमा हैजा फेलिएको पुष्टि

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ लोखरमस्थित मुसहर बस्तीमा हैजा फैलिएको तीन सातापछि यसको स्रोत भेटिएको छ । 

एउटा पनि शौचालय नभए यो बस्तीमा शुद्ध खानेपानी र सरसफाइको कमीले नै हैजा फेलिएको पुष्टि भएको हो । हैजाको स्रोत पत्ता लगाउन गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको समन्वयमा विभिन्न सातवटा पानीको नमुना परीक्षण गराउँदा बस्ती नजिकै बग्ने भलुवाही खोला र पोखरीको पानीमा हैजाको जीवाणु भेटिएको हो । 

९० परिवारको बस्तीमा तीनवटा मात्रै चापाकल भएकोले गाउँबासीले यो पोखरी र खोलामा भाँडा माझ्ने नुहाइ-धुवाइ गर्ने गर्दै आएका थिए । त्यही पोखरी र खोलामा हैजाको जीवाणु फेला परेपछि छिन्नमस्ता गाउँपालिकाले स्वयंसेवक परिचालन गरी पोखरी र खोलाको पानी प्रयोग नर्गन सर्वसाधारणलाई जानकारी गराउने काम गरिरहेको छ । यता, सरोकारवालाहरूले यो बस्तीका नागरिकलाई शुद्ध खानेपानीको व्यवस्थापन गर्न पालिकालाई ध्यान दिन सुझाव दिएका छन् ।

हैजा संक्रमणको अवस्थामा सुधार आए पनि अझै नियन्त्रणमा आउनसकेको छैन । नयाँ तीन जना बिरामी थप देखिएको र १५ जनाको उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । अहिलेसम्म कूल ६८ जना बिरामी भएकोमा ५३ जना उपचार गराएर घर फर्किसकेका छन् । 

झाडापखालाबाट गत कात्तिक ६ गते बुचन सदाका एक वर्षीय छोरा सञ्जीवको मृत्यु भएको थियो भने ११ गते सदाका ६६ वर्षीय बुबा लक्ष्मण र १४ गते चार वर्षकी छोरी राघिनीको उपचार अभावमा ज्यान गएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.