
सप्तरी । सप्तरीको लोखरममा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन ।
मुसहर बस्तीमा फैलिएको झाडापखाला हैजाको आशंका गर्दै कोलेरा परीक्षणका लागि आइतबार नमूना संकलनको काम भएको छ । एकै परिवारका दुई जना कलिला बालबालिका र एक जना ज्येष्ठ नागरिकको मृत्यु भइसक्दा समेत राज्यको जिम्मेवार निकायले बल्ल झाडापखाला फैलिएको बस्तीमा उपस्थिति जनाएको छ ।
सप्तरी सदमुकाम राजविराज नजिकै रहेको छिन्नमस्ता गाउँपालिका ५ लोखरमस्थित मुसहर बस्तीमा झाडापखाला फैलिएको साता बढी भईसक्यो । झाडापखालाबाटै एकै परिवारका दुई बालबालिका र एक बृद्धको ज्यानसमेत गइसकेको छ । तर, अहिलेसम्म कुन किसिमको झाडापखालाको हो भने एकिन हुन सकेको छैन । सञ्चारमाध्यममा घटना सार्वजनिक भएपछि आइतबार मात्रै सदरमुकाम राजविराजबाट क्लोरासहितका परीक्षण गर्न नमूना संकलनको काम भएको हो ।
तीन जनाको मृत्यु भएको उक्त मुसहर बस्तीमा ब्याप्त गरिबीले खानेपानी देखि सरसफाइसम्मको अभाव देखिएको छ । जस कारणले गर्दा पनि यस्तो स्थिति आएको स्वयं स्वास्थ्यकर्मीको भनाइ छ । यस्तै स्वास्थ्य संस्थाहरूमा जीवनजलको समेत अभाव देखिएको छ । उक्त बस्तीमा आवश्यकता अनुसार खानेपानीकालागि चापाकलको पनि लामो समयदेखि अभाव छ ।
यता बस्तीमा झाडापखालाको प्रकोप फैलिएपछि गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली पुगेपनि जनप्रतिनिधिले वास्ता नगरेको स्थानीयको भनाइ छ । झाडापखालाकै उपचारसमेत सप्तरी हुन नसक्दा लोखरमका बुचन सदाका ६६ वर्षीय बुवा लक्ष्मण सदा, एक वर्षीय छोरा सञ्जिव र चार वर्षीय राघिनिको मृत्यु भइसकेको छ भने १५ जना बढी अझ प्रभावित छन् ।
प्रभावितमध्ये १५ जनाको नमूना आइतबार संकलन गरिएको र क्लोरा परीक्षणकालागि जनकपुर प्रयोगशाला पठाउने स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।