सम्मानजनक तलब र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्सहरू आन्दोलित

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सम्मानजनक तलब र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्सहरू आन्दोलित

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलब सुविधाको माग राख्दै आन्दोलित भएका छन् ।

सरकारी मापदण्डभन्दा कम तलबभत्ता, जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरूले १५ देखि २० हजार रूपैयाँ मात्रै तलवभत्ता पाउने गरेका छन् । 

जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४ हजार ७ सय ३० रुपैयाँ) भन्दा निकै कम हो । अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरूको गुनासो छ । विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरू ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् । 

मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक-पटक अस्पताल प्रशासनसँग माग रोखको भए पनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो । बिरामीहरूको असुविधाको लागि माफी माग्दै उहाँले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उहाँको अडान छ ।

नर्सहरूले सम्मानजनक तलब, जोखिमभत्ता, ओभरटाइम सुविधा र बिदा दिनुपर्ने उहाँको माग छ । यता अस्पताल स्रोतले भने तत्काल नर्स तथा स्वास्थ्य कर्मचारीको तलब पुनरावलोकन गर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले अस्पतालका कमजोर आर्थिक अवस्थाका बाबजुद गण्डकी प्रदेशमध्ये सबैभन्दा राम्रो सेवासुविधा दिने प्रयास गरेको पनि बताउनु भयो ।

नर्सहरूलाई राम्रो सेवासुविधा दिएर मुुलुकमै काम गर्ने वातावरण निर्माण अस्पताल सधैं प्रतिबद्ध भएर लागिपरेको उहाँको दाबी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.