काठमाडौं । बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का बेला झाडापखाला, हैजालगायतका पानीजन्य र किटजन्य रोग फैलन सक्ने भएकाले स्वास्थ्य सजगता अपनाउन स्वास्थ्य मन्त्रालय र चिकित्सकहरूले आग्रह गरेका छन् ।
यस्तो बेला स्थानीय तहले पनि सक्रियता बढाइ नागरिकस्तरमा जनचेतना फैलाउन मन्त्रालयको आग्रह छ । बाढी, पहिरो र डुबानपछि प्रभावित क्षेत्रमा पानीका स्रोत प्रदूषित हुने भएकाले पानीजन्य रोगबाट जोगिन स्वास्थ्य सजगता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
यस्तो बेला हैजा, झाडापखाला, टाइफाइडजस्ता रोग लाग्न सक्ने भएकाले शुद्ध खानेपानी, सरसफाइ तथा स्वस्थ खानाको प्रबन्धमा ध्यान दिन मन्त्रालयको सुझाव छ । वर्षापछि लामो समय पानी जम्ने र फोहोर थुप्रिनाले डेंगु, मलेरियाजस्ता कीटजन्य रोगहरू र छालाको संक्रमणसमेत हुन सक्छ भने बाढीका कारण सर्पदंशको समेत जोखिम बढ्ने गर्छ ।
यसैले आवश्यक सजगता अपनाउन संघ तथा प्रदेश स्वास्थ्य मन्त्रालयहरूले आग्रह गरेका छन् । आपतकालीन चिकित्सकीय समूह तथा दूत प्रतिकार्य टोलीलाई चुस्त बनाइ स्वास्थ्य सेवा प्रवाह गरिरहेको पनि संघ तथा प्रदेश मन्त्रालयहरूले जनाएका छन् ।
बाढीपहिरोबाट विस्थापितहरूका लागि स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याई सेवा दिने व्यवस्था मिलाइएको पनि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न बाढीप्रभावित क्षेत्रका नागरिकलाई अहिले स्थानीय विद्यालय तथा सार्वजनिक स्थलहरूमा राखिएको छ ।
स्वास्थ्य मन्त्रालयले विपद्का बेला आवश्यक पर्ने औषधि र आकस्मिक सामग्रीको उपलव्धता सुनिश्चित गरिएको र स्थानीय तह तथा सुरक्षा निकायको समन्वयमा काम भैरहेको पनि जनाएको छ ।