काठमाडौं । खानपानमा हुने लापरबाही र जीवनशैलीमा भएको परिवर्तनले नेपालमा मुटु रोगका बिरामीको संख्या बर्सेनि बढ्दै गएको छ ।
त्यति मात्र होइन नसर्ने रोगमध्ये मृत्युको प्रमुख कारण मुटु रोग नै भएको विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । तर समयमै सतर्कता अपनाउन सके मुटु रोगको जोखिमलाई घटाउन सकिन्छ ।
सामान्यतया हाम्रो बुझाइ निश्चित उमेर पुगेपछि मात्रै मुटु रोग लाग्छ भन्ने छ । तर यो गलत हो । अहिले नवजात शिशुदेखि ज्येष्ठ नागरिकसम्ममा मुटुरोग देखिने गरेको छ । वंशाणुगतदेखि जीवनशैलीका कारण पनि मुटुरोग लाग्ने गर्छ ।
अर्थात् अस्वस्थकर जीवनशैली, धुम्रपान, मध्यपान, अध्यधिक चिल्लो खानेकुराको प्रयोगले पनि मुटुरोग लाग्ने गर्दछ । त्यसबाहेक कसैलाई उच्च रक्तचाप वा मधुमेह छ भने मुटु रोगको जोखिम बढाउँछ । मुटु रोगमा पनि हृदयाघातको समस्या उच्च छ ।
चिकित्सकहरूका अनुसार २ दशक अघिसम्म प्रति १ लाखमा झन्डै २७ सयलाई कुनै न कुनै किसिमको मुटु रोग देखिने गरेको थियो । अहिले प्रति एक लाखमा ४ हजारलाई देखिने गरेको छ ।
सरकारले विपन्न नागरिक उपचार कार्यक्रमअन्तर्गत मुटु रोगको उपचारका लागि एक लाख रूपैयाँ दिँदै आएको छ । वर्षेनि यस्तो सहयोग लिनेहरू बढ्दै छन् । आर्थिक वर्ष २०७८-७९ मा ६ हजार १ सय १९ जनाले मुटु रोगको उपचारका लागि सहयोग लिएकोमा २०७९-८० मा त्यो सङ्ख्या ६ हजार ५ सय २६ पुगेको छ ।
त्यस्तै २०८० -८१ मा आइपुग्दा ६ हजार ९ सय २६ जनाले यस्तो सहयोग लिएका छन् । यो तथ्यांक हेर्दा पनि मुटुरोग बढेको पुष्टि हुन्छ । तर जीवनशैली परिवर्तन गरेमा मुटुरोगको जोखिम कम गर्न सकिने चिकित्सक बताउँछन् ।
पछिल्लो समय नेपालमा नसर्ने रोगको जोखिम बढ्दो छ । त्यसमा पनि मुटु रोग एक प्रमुख समस्याको रूपमा देखिएको छ । स्वस्थ्य जीवनशैली अपनाउँदै कम्तिमा वर्षमा एक पटक मुटुको परीक्षण गरी सावधानी अपनाउन सके मुटु रोगबाट बच्न सकिने चिकित्सक बताउँछन् ।