काठमाडौं । नेपाल इन्जिनियर्स एसाेसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ ।
एसाेसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जेन-जी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताउनुभएको हो ।
शनिबार मन्त्रालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सर्वोच्च अदालतको पनि उत्तरतिरको भाग कामै नलाग्ने अवस्थामा रहेको बताउनु भयो । दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको आफूहरूको प्रारम्भिक निरीक्षणले देखाएको अध्यक्ष बरालले बताउनु भयो ।
एसाेसिएसनले सरकारसँगको समन्वयमा जेन-जी प्रर्दशनकारीहरूले तोडफोड र आगजनी गरेका सरकारी तथा निजी भवनहरूको निरीक्षणको कामलाई तिब्रता दिइएको जानकारी गराउँदै आएको छ ।
अध्यक्ष बरालले ७ वटै प्रदेश कार्यालयहरूबाट आफूहरूले सो कामलाई निरन्तरता दिइएको बताउनु भयो ।