जेन-जी आन्दोलनकाे प्रभाव : एक सातादेखि एम्बुलेन्स सेवा ठप्प, बिरामी मर्कामा

आश्विन १, २०८२ |डीबी बुढा
जेन-जी आन्दोलनकाे प्रभाव : एक सातादेखि एम्बुलेन्स सेवा ठप्प, बिरामी मर्कामा

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले एक साता देखि एम्बुलेन्स सेवा दिन सकेको छैन । 

जेन-जी आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले पार्किङ गरेर राखेको एम्बुलेन्स तोडफोड गरेपछि सेवा ठप्प भएको हो । एम्बुलेन्स सेवा लिन नपाउँदा बिरामीहरू मर्कामा परेका छन । 

अहिले महंगोमा गाडी रिजर्भ गरेर अस्पताल पुर्‍याउनु परेको स्थानीयले दुखेसो पोखेका छन । स्थानीय करबहादुर खत्रीले बिरामी बोक्ने एम्बुलेन्स प्रदर्शनकारीको निसाना बन्नु दुःखद भएको बताए । 

प्रदर्शनकारीहरूले एम्बुलेन्सका सबैतिरका सीसा तोडफोड गर्नुका साथै इन्जीनमा समेत क्षति पुर्‍याएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम्बुलेन्स छैनन । अहिले चन्दननाथ नगरपालिकाको एम्बुलेन्सले सेवा दिइरहेको थियो । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भन्नुभयाे, ‘अहिले बिरामी बोक्नुपर्नेदेखि महंगोमा गाडी रिजर्भ गरेर बिरामी अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ ।’

एम्बुलेन्सले नगरपालिका भित्रका १० वटै वडाका बिरामी बोक्नुका साथै छिमेकी पालिका र जिल्लाका बिरामीहरूसमेत बोकिरहेको थियो । फुर्सद भएको बेला जताका बिरामीले फोन गरे उत्तैका बिरामी बोकिरहेको थियो । प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले भन्नुभयाे, ‘अहिले बिरामीका आफन्तले फोन गरिरहन्छन् तर एम्बुलेन्स तोडफोड भएकोले सेवा दिन सकिएको अवस्था छैन ।’

चन्दननाथ नगरपालिकाका अनुुसार एम्बुलेन्सको बिमा शिखर इन्स्योरेन्स कम्पनीमा गरिएको थियो । बिमाले पनि सर्भे गरिसकेको छ । ग्यारेजले स्टमेट गरेर पठाइसकेको छ । उहाँले भन्नुभयाे, ‘बारम्बार बिमा कार्यालयमा गएर एम्बुलेन्स छिटो मर्मत गर्नुपर्ने भन्दै दबाब दिइरहेका छौं ।’

नगरपालिकाले क्षतिको विवरण पठाइसकेको छ । नगरप्रमुख राजुसिंह कठायतले हप्ता दसदिन भित्र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने गरेर तयारी भइरहेको छ । प्रहरीले पनि एम्बुलेन्समा भएको क्षतिको मुचुल्का गरिसकेका छन । जस अनुसार ५ लाख रूपैयाँ बराबरको सामानहरू क्षति भएको देखिएको छ ।

स्थानीयले पनि अरू सवारी साधन भन्दा छिटो एम्बुलेन्स बनाउनुपर्ने माग गरेका छन । 


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।