काठमाडौं । जेन-जीहरुले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा २१ सयभन्दा बढी घाइते भएका थिए ।
तीमध्ये ३ सयभन्दा बढीको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनकै बलमा देशमा नयाँ सरकार गठन भएको छ । असह्यै पीडा सहेर अस्पतालको शय्यामा उपचार गराइरहेकाहरू भन्छन्- परिवर्तनमा आफूहरूले पुर्याएको योगदान खेर नजाओस् ।
जेन-जीले काठमाडौंको बानेश्वरमा गरेको प्रदशर्नका क्रममा खुट्टामा गोली लगेर घाइते भएका सिन्धुपाल्चोकका अभिशेक श्रेष्ठको अहिले ट्रमा सेन्टरमा उपचार जारी छ ।
भ्रष्टाचारविरूद्ध प्रदर्शन गरिरहेका बेला २२ वर्षीय अभिशेकलाई प्रहरीले चलाएको गोली लागेको हो । अस्पतालको शय्यामा उपचार गराइरहनुभएका उहाँ सामान्य हिँडडुल गर्नसमेत सक्नुहुन्न । तर आन्दोलन सफल भएकोमा उत्साही हुनुहुन्छ । भन्नुहुन्छ- परिवर्तनका लागि आफूहरूले गरेको योगदान खेर नजाओस् ।
जेन-जी आन्दोलनका क्रममा घाइते भएर वीर अस्पतालमा उपचार गराइरहेका ३० वर्षीय नेत्रविक्रम थापा केही महिना अघि मात्र वैदेशिक रोजगारीबाट फर्कनुभएको थियो ।
फेरि विदेश जाने तयारीमा रहेका उहाँ नेपालमै रोजगारी तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गराउन आन्दोलनलाई साथ दिन पुग्नुभएको हो । तर उहाँको छाती र गर्दनमा गरी ७ वटा गोली लागेको छ ।
शारीरिक पीडाकै बीच देशमा परिवर्तन भएकोमा उहाँ खुसी हुनुहुन्छ । वीर अस्पतालमै उपचाररत घाइते अच्यूत कार्कीलाई भने काम सकेर घर फर्कने क्रममा घाँटीमा गोली लाग्यो ।
जेन-जीको प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार गर्न चिकित्सकहरूलाई अहिले पनि भ्याइनभ्याइ छ । अझै पनि कतिपय विरामी गम्भीर अवस्थामा छन् । यति धेरै घाइते यसअघि एकै पटक अस्पतालमा नदेखेको चिकित्सकहरू बताउँछन् ।
सरकारले घाइतेहरूको नि:शुल्क उपचार गराउने घोषणा गरिसकेको छ । तर कतिपय औषधि सहज रूपमा नपाएको गुनासो उनीहरूको छ । राजनीतिक परिवर्तनमा योगदान पुर्याउने घाइतेहरूको उपचारमा सरकारले कुनै कमी हुन दिनु हुँदैन ।