सुनसरीको झुम्का कारागारमा तीनवटा रोग फैलिएको पुष्टि

क्षमताभन्दा धेरै बन्दी भएकाले स्वास्थ्य जोखिम कायमै
भाद्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनसरीको झुम्का कारागारमा तीनवटा रोग फैलिएको पुष्टि

सुनसरी । सुनसरीको झुम्का कारागारमा तीनवटा रोगको प्रकोप फैलिएको पुष्टि भएको छ ।

चार दिनभित्र तीन जना कैदीबन्दीको मृत्यु भएको कारागारमा धमाधम बिरामी बढ्न थालेपछि स्वास्थ्य शिविर चलाइएको थियो । उक्त शिविरमा कैदीबन्दीको नमूना संकलन गरी परिक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । 

प्रयोगशाला परिक्षणबाट कैदीबन्दीमा स्क्रबटाइफस, डेंगी र इन्फ्लुएन्जा फैलिएको पुष्टि भएको हो । केही कैदीबन्दीमा जापनिज इन्सेफ्लाइटिसको आशंका गरिए पनि त्यसको रिपोर्ट आउन बाँकी छ ।

चार दिनमै तीनजना कैदीको मृत्यु हुनुका साथै ३ सय बढी कैदी बिरामी भएपछि कारागारमा त्रास फैलिएको थियो । अहिले पनि केही कैदीबन्दी विभिन्न अस्पतालमा उपचारत छन् । 

१६ सय क्षमता रहेको झुम्का कारागारमा 'ए' र 'बी' गरी दुबै ब्लकमा १ हजार ७ सय ९८ जना कैदीबन्दी छन् । क्षमताभन्दा धेरै बन्दी कोचाकोच गरेर राख्नुलाई संक्रमणको मुख्य कारण मानिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.