रामेछाप । रामेछापमा मोतियाबिन्दूको निःशुल्क शल्यक्रिया शिविरले अन्धकारमा बाँचेका सयौँ ज्येष्ठ नागरिकको जीवनमा फेरि उज्यालो ल्याइदिएको छ।
सदरमुकाम मन्थलीमा भदौ १४ र १५ गते चलेको शिविरमार्फत १ सय ५० जनाको आँखाको ज्योति फर्किएको हो । बाँकी जीवन अन्धकारमा बित्छ कि भन्ने चिन्तामा रहेका ज्येष्ठ नागरिकले फेरि उज्यालो संसार देख्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न नसक्किने छ।
लिखुतामाकोशी गाउँपालिका–५ नागदहकी ७० वर्षीय राम्रीमाया पुवारको जीवन दुई वर्षभन्दा बढी समयदेखि आँखा नदेख्दा अन्धकारमय थियो । अब बाँकी जीवन यस्तै बित्छ कि भन्ने ठूलो चिन्ता पालेर बसेकी राम्रीमायालाई सदरमुकाम मन्थलीमा आयोजित मोतियाबिन्दु शल्यक्रिया शिविर वरदान साबित भयो ।
शल्यक्रियापछि आँखाको ज्योति फिर्ता पाएपछि उहाँको मुहारमा अवर्णनीय खुसी झल्किएको छ । स्वास्थ्य संस्थामा जाँदा मोतियाबिन्दु भएको पत्ता लागे पनि विभिन्न कारणले उपचार गर्न नसकेकी राम्रीमायाले फेरि संसार देख्न पाउँदा पुनर्जन्म पाएको अनुभूति गर्नुभएको छ ।
मन्थली नगरपालिका–१३ देविटारका ७८ वर्षीय तेजबहादुर बुढा र रामेछाप नगरपालिकाकी ७३ वर्षीय हीराकुमारी कार्कीको पनि आँखाको अन्धकार अब हटेको छ। उहाँहरूलाई मोतियाबिन्दूको निशुल्क शिविरले फेरि नयाँ जीवन दिएको अनुभूति भएको छ ।
नेपाल आँखा कार्यक्रम र तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा, खाँडादेवी गाउँपालिकाको समन्वय तथा सामुदायिक विकास समाज मन्थलीको आयोजनामा भदौ १४ र १५ गते मन्थलीमा सञ्चालन भएको मोतियाबिन्दु शल्यक्रिया शिविरमार्फत १ सय ५० जना ज्येष्ठ नागरिकको आँखाको ज्योति फर्किएको छ ।
वर्षौँदेखि आँखाको ज्योति गुमाएका बिरामीका लागि यस्ता निःशुल्क शल्यक्रिया शिविरले नयाँ जीवनको आशा दिलाएको छ ।