कलैया । वीरगञ्जमा हैजाको संक्रमण देखापरे लगतै बाराको कलैयामा पनि एक जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरूषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेसु डाक्टर अजय कुमार गुप्ताले जानकारी दिनुभएको छ । झाडापखाला लागेर अस्पताल आएका कलैया उपमहानगरपालिका-१८ पतौराका एक जना पुरूषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
संक्रमण पुष्टि भएका पुरूष वीरगञ्जमा पलम्बरको काम गर्दै आएका थिए । यता वीरगञ्ज महानगरमा अहिलेसम्म हैजा संक्रमितको संख्या एक सय १५ पुगेको छ ।
पछिल्लो २४ घन्टाको अवधिमा संक्रमण दर घट्नुको साटो बढ्दै गएको छ । संक्रमण नियन्त्रणमा नआएको भन्दै महानगरभित्रका शैक्षिक संस्था थप तीन दिन बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार हालसम्म भएको आरडीटी परीक्षणबाट १ सय १४ जनामा हैजा पुष्टि भएको हो । संक्रमित पुष्टि भएकाहरू वीरगन्ज महानगरपालिका–३, ११, १२, १३ र १६ का छन् ।
नारायणी अस्पतालमा ४३ र तराई अस्पतालमा ३८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । नेसनल मेडिकल कलेजमा १५, भवानी, वीरगञ्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा ३/३ जनामा, अली अर्थो र एडभान्स मेडिकेयर अस्पतालमा २/२ जनामा तथा नारायणी सेन्टर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी वयोधा र सर्वोत्तम अस्पतालमा १/१ जनामा संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जनाएको छ ।
महानगरका विभिन्न अस्पतालमा १ सय ९९ जना झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । मंगलबार साँझसम्म २ सय २३ हैजा र झाडापखालाका बिरामी डिस्चार्ज भई घर फर्किसकेका छन् ।