काठमाडौं । निसन्तान दम्पत्तिलाई सन्तान सुख दिने आईभीएफ सेवा सुरू भएको २० वर्ष बितिसकेको छ । तर, सरकारले सञ्चालन मापदण्ड नबनाउँदा गैरकानुनी अभ्यास बढ्दै गएका छन् ।
आइभीएफ सेवा सञ्चालन गर्न २५ निजी र २ सरकारी गरी २७ स्वास्थ्य संस्थाले स्वीकृति लिए पनि विना दर्ता कति छन्, लेखाजोखा नै छैन । स्वीकृति लिएको काठमाडौंका एउटा स्वास्थ्य संस्थाले समेत गैरकानुनी अभ्यास गरेको आरोपमा प्रहरीले सञ्चालकसहित ५ जनाविरूद्ध मुद्दा चलाएको छ ।
नेपालमा आइभीएफ अर्थात् टेष्ट्युब बेबी सम्बन्धि न कुनै कानुन छ । न कुनै मापदण्ड । निसन्तान दम्पत्तिलाई सन्तान सुख दिने आइभीएफ प्रविधिमार्फत् नेपालमा २०६१ फागुन २० मा पहिलो शिशुको जन्म भएको थियो ।
त्यसयता यो प्रविधिको सहयोगले धेरैले सन्तान जन्माइसकेका छन् । आईभीएफ सेवा सञ्चालन गर्न सरकारले नै हालसम्म २५ निजी र २ सरकारी गरी २७ स्वास्थ्य संस्थालाई स्वीकृति दिइसकेको छ । तर अचम्म त के भने आइभीएफ सुरू भएको २० वर्ष भइसक्दा पनि यससम्बन्धी न कुनै मापदण्ड बनेको छ न कानुन ।
आईभीएफ सेवा सञ्चालनका लागि २७ वटा स्वास्थ्य संस्थाले स्वीकृति लिए पनि बिनादर्ताका संस्था कति छन् कुनै लेखाजोखा छैन । त्यसमाथि स्वीकृति नै लिएकाले समेत गैरकानुनी अभ्यास गरिरहेका छन् ।
हालैमात्र १८ वर्षमुनिका बालबालिकाहरूको डिम्ब अर्थात् अण्डा झिकेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआइबीले काठमाडौंको होप फर्टिलिटि एन्ड डाइग्नोस्टिक सेन्टरका सञ्चालकसहित ५ जनाविरूद्ध अनुसन्धान अघि बढाएको छ । बालबालिका ऐन २०७५ को वर्खिलाप हुने गरी कार्य गरेको आरोपमा उनीहरू विरूद्ध अनुसन्धान भइरहेको हो ।
महिलाको अण्डा र पुरूषको शुक्रकीट निकालेर ल्याबमा भ्रूण तयार गर्ने प्रक्रियालाई आईभीएफ अर्थात् बोलीचालीको भाषामा ‘टेस्ट ट्युब बेबी’ भनिन्छ । यसरी तयार भएको भ्रूणलाई महिलाको पाठेघरमा राखेर भ्रूणको विकास गराउने गरिन्छ ।
अब प्रश्न उठ्छ, यसमा डिम्ब किन लेनदेन हुन्छ र कसरी गैरकानुनी हुन्छ ? सामान्य रूपमा बुझ्दा महिलाको उमेरसँगै शरीरको डिम्ब पनि कम हुँदै जान्छ र सन्तान जन्माउन चाहेमा सम्भव हुँदैन ।
यस्तोमा विभिन्न विधि तथा परीक्षण पुरा गरी अन्य महिलाको डिम्ब लिइन्छ र बाहिरै भ्रुण तयार गरी महिलाको पाठेघरमा राखिन्छ । तर यस्तो डिम्ब नाबालिकबाट लिन मिल्दैन । कानुनलेनै दिदैन । तर केही संस्थाहरुले गैरकानुनी रुपमा डिम्बको कारोबार गरिरहेको पाइएको छ ।
सरकारले निश्चित मापदण्ड नबनाउँदा महिलाहरूलाई प्रलोभनमा पारेर डिम्ब लेनदेन हुने गरेको छ । उमेर नपुगेका किशोरीहरूको डिम्ब झिक्दा उनीहरूलाई शारीरीक तथा मानसिक रूपमा असर गर्ने चिकित्सकहरू बताउँछन् ।
पछिल्लो समि आइभीएफ सेवा लिन चाहनेको संख्या बढ्दै गएको छ । यो प्रविधि किन पनि जरूरी छ भने निसन्तान मानिसले सन्तान प्राप्त गर्न सक्छन । सोहीकारण थप एक दर्जनभन्दा बढी स्वास्थ्य संस्थाहरूले आइभीएफ सेवा सञ्चालन गर्न चाहिरहेका छन् । तर जथाभावी रूपमा गैरकानुनी अभ्यास भएमा त्यसले लाभभन्दा बढी हानी गर्छ ।
यसकारण यसलाई कानुन, नीति र मापदण्ड मार्फत नियमन गर्नुपर्छ । र, नेपालमा आइभीएफ सेवा सुरू भएको २० वर्ष पछि बल्ल अहिले सरकारले यसको तयारी थालेको छ ।