झाडापखला र हैजाका बिरामीको निःशुल्क उपचारको प्रबन्ध मिलाउन मन्त्री पौडेलको निर्देशन

भाद्र ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
झाडापखला र हैजाका बिरामीको निःशुल्क उपचारको प्रबन्ध मिलाउन मन्त्री पौडेलको निर्देशन

पर्सा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई निःशुल्क औषधि र उपचारको प्रबन्ध मिलाउन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।

वीरगञ्ज आसपासमा झाडापखला र हैजाको सङ्क्रमण देखिएपछि निरीक्षण गर्न आउनुभएका मन्त्री पौडेलले अस्पतालले बिरामीको उचित ढङ्गले उपचार गर्नुपर्ने बताउनुभएको हो । 

“नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने कुनै पनि बिरामीले जुनसुकै औषधि निःशुल्क पाउने गरी व्यवस्थापन गर्न आग्रह छ”, उहाँले भन्नुभयो,“विश्व स्वास्थ्य सङ्गठनको पोर्टोकलले भ्याउने खालको औषधिले पुग्ने भए ठीकै छ । नत्र भने परिस्थितिवस थप औषधि दिनुपर्ने छ भने पनि ती औषधि निःशुल्क उपलब्ध गराउन र आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासनलाई निर्देश गर्दछु ।’’

मन्त्री पौडेलले अस्पतालमा उपचाररत बिरामीसँग त्यहाँको सेवा र गुनासाबारे जानकारी लिनुभएको थियो । मन्त्री पौडेलले तीनै तहका सरकारसँग समन्वय गरेर कुनै पनि हालतमा औषधिको कमी हुन नदिने बताउनुभयो । 

मन्त्री पौडेलले थप जनशक्ति र सहायता चाहिएको खण्डमा सङ्घीय सरकारले तत्कालै चिकित्सकसहितको जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वीरगञ्जका निजी अस्पताललाई झाडापखला र हैजाका बिरामीलाई सहज र सुलभ मूल्यमा औषधि उपचारमा सहयोगका लागि आग्रह गर्नुभयो ।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षत्रीले नारायणी अस्पताललाई प्रदेश सरकारले विभिन्न थरिका औषधि उपलब्ध गराउँदै आइरहेको जानकारी दिनुभयो । उहाँले समस्या परेका बेला मात्र तात्ने नभइ जुनसुकै बेला समस्या आउनसक्छ भन्ने सोचेर दीर्घकालीन योजनासहित काम गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा झाडापखला र हैजाको समस्या देखिएकाले समस्या समाधान गर्नका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले एकद्वार प्रणालीबाट उपचार र औषधि वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले निश्चित मापदण्डको ‘चेकलिस्ट’सहित हैजाको मुख्य कारण पत्ता लगाउने कार्य भइरहेको बताउनुभयो । पाँच वटा कलष्टरमा आधारित भएर आवश्यक काम भइरहेको उहाँले जानकारी गराउनुभयो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डडेन्ट (मेसु) चुमनलाल दासले अस्पतालमा हाल ४८ जना झाडापखला र हैजाका बिरामीको उपचार भइरहेको जानकारी दिनुभयो । तीमध्ये दुई जनाको आकस्मिक कक्षमा र अन्यको तीन वटा वार्डमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

मेसु दासका अनुसार हाल यहाँ प्रादेशिक अस्पताल गौर र कलैयाँबाट चिकित्सकसहितको टोली आएर उपचार सेवा दिइरहेका छन् । यस्तै, वीरगञ्ज नर्सिङ कलेजका बिएस्सी नर्सिङ अध्ययनरत विद्यार्थी र वीरगञ्ज महानगरबाट स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी आएर आवश्यक सहजीकरण गरिरहेका छन् ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले झाडापखला र हैजाका गरी दुई सय ५४ जना बिरामीको सङ्ख्या दर्ता भएको बताउनुभयो । यहाँ हालसम्म एक सय २४ जना बिरामी उपचार गरेर घर फर्किसकेका छन् ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.