वीरगञ्जमा हैजाको संक्रमण नियन्त्रणमा आउन सकेन

थप २१ जनामा हैजाको संक्रमण पुष्टि, संक्रमितको संख्या ११४ पुग्यो
भाद्र ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
वीरगञ्जमा हैजाको संक्रमण नियन्त्रणमा आउन सकेन

पर्सा वीरगञ्ज । वीरगन्जमा हैजाको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । मंगलबार रातिसम्ममा थप २१ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । योसँगै बीरगञ्ज महानगरमा हैजा संक्रमितको संख्या १ सय १४ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा संक्रमण दर घट्नुको साटो बढ्दै गएको छ । संक्रमण नरोकिएपछि वीरगञ्जमा थप तीन दिन शैक्षिक संस्था बन्द गरिने निर्णय गरिएको छ । 

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार हालसम्म भएको आरडीटी परीक्षणबाट १ सय १४ जनामा हैजा पुष्टि भएको हो । संक्रमित पुष्टि भएकाहरू वीरगन्ज महानगरपालिका–३, ११, १२, १३ र १६ का छन् । नारायणी अस्पतालमा ४३ र तराई अस्पतालमा ३८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । 

नेसनल मेडिकल कलेजमा १५, भवानी, वीरगन्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा ३/३ जनामा, अली अर्थो र एडभान्स मेडिकेयर अस्पतालमा २/२ जनामा तथा नारायणी सेन्टर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी वयोधा र सर्वोत्तम अस्पतालमा १/१ जनामा संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जनाएको छ । 

महानगरका विभिन्न अस्पतालमा १ सय ९९ जना झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । मंगलबार साँझसम्म २ सय २३ हैजा र झाडापखालाका बिरामी डिस्चार्ज भई घर फर्किसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.