सेवामैत्री दृष्टिकोण र गुणस्तरीय स्वास्थ्य प्रणालीमार्फत समृद्ध नगर निर्माणतर्फ अघि बढ्दो कागेश्वरी मनोहरा

श्रावण १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सेवामैत्री दृष्टिकोण र गुणस्तरीय स्वास्थ्य प्रणालीमार्फत समृद्ध नगर निर्माणतर्फ अघि बढ्दो कागेश्वरी मनोहरा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तहमा प्रविधिमैत्री, समावेशी र जनउत्तरदायी स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित एकैदिन तीन वटा स्वास्थ्य चौकीहरूमा अत्याधुनिक ल्याब सेवा सञ्चालनमा ल्याएको छ।

वडा नं. २ स्थित आलापोट स्वास्थ्य चौकी, वडा नं. ५ स्थित डाँछी स्वास्थ्य चौकी र वडा नं. ९ स्थित गोठाटार स्वास्थ्य चौकीमा सेरो डाइनोस्टिक ट्रेडर्स नेपाल प्रा.लि. सँगको सहकार्यमा सञ्चालित ल्याबहरूमा विश्वस्तरीय प्रविधियुक्त उपकरणहरू जडान गरिएका छन्। अटोमेटिक प्रणालीमा आधारित यी ल्याबहरूले अब गुणस्तरीय परीक्षण सेवा सहज र छरितो बनाउनेछन्।

यस ऐतिहासिक कार्यको उद्घाटन नगरप्रमुख उपेन्द्र कार्कीले गर्नुभयो। उहाँले आफ्नो सम्बोधनमा स्वास्थ्य क्षेत्रलाई पूर्ण प्राथमिकतामा राख्दै प्रत्येक नागरिकसम्म गुणस्तरीय सेवा पुर्‍याउने स्पष्ट नीति अनुसार योजनाहरू कार्यान्वयन भइरहेको बताउनुभयो।

उहाँले भने, “स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकहरूले ल्याब सेवा निःशुल्क रूपमा प्राप्त गर्न सक्नेछन्। अब सामान्य परीक्षणका लागि पनि ठूलो अस्पताल जानुपर्ने बाध्यता हट्नेछ, जसले समय र खर्च दुवैमा जनतालाई राहत मिल्नेछ।”

नगर उपप्रमुख शान्ता थापाले स्वास्थ्यसम्बन्धी चुनावी प्रतिबद्धता क्रमशः पूरा हुँदै गएको उल्लेख गर्दै भन्नुभयो, “स्वास्थ्य नै धन हो भन्ने मान्यताको सार्थक कार्यान्वयन नगरमा भइरहेको छ।”

नगर अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले सेवा छिटो, भरपर्दो र वैज्ञानिक बनाउन दक्ष जनशक्ति र नवीनतम प्रविधियुक्त उपकरणहरूको प्रयोग गरिएको जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले पनि नगरपालिकाले व्यवस्थापनमा कुनै सम्झौता नगरेको प्रष्ट पार्दै भन्नुभयो, “हामी नागरिकलाई सहज, गुणस्तरीय र विश्वासिलो सेवा दिन पूर्ण प्रतिबद्ध छौं। समग्र विकासतर्फ नगर निरन्तर अघि बढिरहेको छ।”

कार्यक्रममा सहभागीहरूले नगरप्रमुख कार्कीको दूरदर्शी, क्रियाशील र नतिजामुखी नेतृत्वले नगरको सेवा प्रणालीलाई आधुनिकिकरण तथा समृद्धि तर्फ अग्रसर गराएको प्रतिक्रिया दिएका थिए।

नागरिकको हितमा केन्द्रीत योजनाको सफल कार्यान्वयन, सार्वजनिक संस्थाहरूको समन्वयात्मक उपयोग र स्थानीय स्रोत तथा क्षमताको परिचालनमार्फत कागेश्वरी मनोहरा नगरपालिकाले समृद्ध नगर निर्माणको यात्रामा नयाँ ऊर्जा थपेको विश्वास गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.