काभ्रे । धुलिखेल अस्पतालबाट हटाएर धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दू तोक्ने निर्णयले काभ्रेमा तीन दिनदेखि स्वास्थ्य बीमाको सेवा पूर्णरूपमा अवरूद्ध भएको छ ।
सेवा अवरूद्ध भएपछि सेवाग्राही उपचार नपाई फर्कन बाध्य भएका छन्। स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाको भेलाले धुलिखेलको सेवा केन्द्रको नयाँ स्थान उपयुक्त नभएको भन्दै साबिककै धुलिखेल अस्पतालमा सेवा सुचारू गर्न माग गर्दै स्वास्थ्य बीमा संस्थानमा पत्राचार गर्ने निर्णय गरेको छ।
आवश्यक परे चरणबद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत बैठकले दिएको छ । हाल बीमा सेवा केन्द्र तोकिएको पनौतीको खोपासी केन्द्रमा मात्र सेवा दिइएको छ भने बनेपाबाट सेवा लिन आएका सेवाग्राहीहरू नाला प्राथमिक स्वास्थ्य केन्द्रबाट समेत रिफर नपाई धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र पुगेका थिए। तर केन्द्रले जनशक्ति र पूर्वतयारी अभाव देखाउँदै सेवा दिन असमर्थ रहेको जनाएको छ।
त्यस्तै, पाँचखाल नगरपालिकामा तोकिएको सेवा केन्द्रबाट समेत सेवा दिन नसकिने भन्दै सूचनासहित सेवा स्थगन गरिएको छ । स्थानीय तह र सरोकारवाला निकायहले भने सेवा प्रभावकारी बनाउन पूर्वाधारयुक्त धुलिखेल अस्पतालमै बीमा सेवा केन्द्र कायम गर्नुपर्नेमा जोड दिएका छन् ।