काभ्रे । स्वास्थ्य बीमा संस्थानले धुलिखेल अस्पतालबाट हटाएर धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई बीमाको सेवा केन्द्र तोकेको निर्णयले काभ्रेपलाञ्चोकमा दुई दिनदेखि स्वास्थ्य बीमाको सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ। सेवा अवरूद्ध भएपछि सेवाग्राही उपचार नपाई फर्कन बाध्य भएका छन्।
स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाको भेलाले धुलिखेलको सेवा केन्द्रको नयाँ स्थान उपयुक्त नभएको भन्दै पुरानै स्थान धुलिखेल अस्पतालमै सेवा सुचारू गर्न माग गर्दै संस्थानमा पत्राचार गर्ने निर्णय गरेको छ। आवश्यक परे चरणबद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत बैठकले दिएको थियो ।
तर हाल बीमा सेवा केन्द्र तोकिएको पनौतीको खोपासी केन्द्रमा मात्र सेवा दिइएको छ भने बनेपाबाट सेवा लिन आएका सेवाग्राहीहरू नाला प्राथमिक स्वास्थ्य केन्द्रबाट समेत रिफर नपाई अन्ततः धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र पुगेका थिए।
तर उक्त केन्द्रले जनशक्ति र पूर्वतयारी अभाव देखाउँदै सेवा दिन असमर्थ रहेको बताएको छ भने धुलिखेल सेवा केन्द्र तोकिएको वडा नं. ८ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन नै २०३२मा बनेको हो ।
यस्तै भुकम्प पश्चात् नै प्रयोग गर्न नहुने भएको थियो । अहिले समेत तेहिबाट सेवा दिँदै आएको अवस्थामा थप जनशक्तिसहित अन्य व्यवस्थापन नभइ सेवा दिन नसकिने प्राथमिक सेवा केन्द्रका डा. दिपक ढकाल बताउनु हुन्छ ।
तेस्तै, पाँचखाल नगरपालिकामा तोकिएको सेवा केन्द्रबाट समेत सेवा दिन नसकिने भन्दै सूचनासहित सेवा स्थगन गरिएको छ। सेवाग्राहीहरू अन्योलमा परेका छन् भने बीमाको भरोसामा आएका बिरामीहरू उपचार नपाई निराश भएर फर्किएका छन्।
स्थानीय तह र सरोकारवाला निकायहरूले भने सेवा प्रभावकारी बनाउन पूर्वाधारयुक्त धुलिखेल अस्पतालमै बीमा सेवा केन्द्र कायम गर्नुपर्नेमा जोड दिएका छन्। यता स्वास्थ्य बीमा संस्थानले भने सार्वजनिक मागप्रति कुनै प्रतिक्रिया नजनाउँदै वेवास्ता गरिरहेको भन्दै तीव्र असन्तोष व्यक्त गरिदै आएको छ ।