काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई डेंगी सचेतना राष्ट्रिय अभियान महिनाका रूपमा घोषणा गरेको छ ।
डेंगी सङ्क्रमण उच्च हुनुअगावै सचेतना अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले यस वर्षदेखि साउन महिनालाई सचेतना महिना राष्ट्रिय अभियानका रूपमा घोषणा गरेको हो ।
अभियानअन्तर्गत हरेक शुक्रबार सार्वजनिक स्थलहरूमा सरसफाई तथा लामखुट्टे प्रजनन् स्थलहरूको खोजी र नष्ट गर्ने, तीनै तहमा छलफल तथा पैरबी गर्ने, डेंगीको जोखिम, लक्षण र रोकथामबारे जनचेतना फैलाउने, मोवाइल तथा सञ्चार माध्यममार्फत् प्रचारप्रसार लगायतका काम गरिने मन्त्रालयले जनाएको छ ।
सरकारले डेंगी तथा महामारी व्यवस्थापनका लागी प्रदेश तथा जिल्लाहरूलाई १ करोड २० लाख ८४ हजार र स्थानीय तहहरूलाई ४ करोड ६५ लाख ९३ हजार विनियोजन गरेको छ ।
डेंगी संक्रमणकै कारण गत वर्ष ५० हजार संक्रमित भएकोमा १५ जनाको मृत्यु भएको थियो । संक्रमण प्राय: साउनदेखि असोज महिनासम्म उच्च रहने मन्त्रालयको तथ्याङ्क छ ।