मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

जेष्ठ २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको छ । मिर्गौला तथा कलेजो दुवै बिग्रिएर जटिल स्वास्थ्य अवस्थामा रहेका ५३ वर्षीय ईश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो ।

ईश्वरबहादुरलाई २६ वर्षीय छोरा आयुषले कलेजो दान गर्नुभएको हो । प्रत्यारोपण गर्न भन्दै भारत पुगेपनि चित्तबुझ्दो परामर्श नपाएपछि उहाँहरू नेपाल मेडिसिटी अस्पताल आउनुभएको थियो । अहिले बिरामीको अवस्थामा सुधार हुँदै गएको छ ।

भारतको अमृता अस्पतालसँगको सहकार्यमा नेपाल मेडिसिटिका चिकित्सकहरूको नेतृत्वमा कलेजो प्रत्यारोपण गरिएको हो । जटिल मानिएको कलेजो प्रत्यारोपणको निरन्तरतासँगै थप सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ ।

नेपालमा बर्सेनि २ सय जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी आउने गरेको चिकित्सकहरूले बताउँदै आएका छन् । तर कलेजो प्रत्यारोपण सेवा सुरू भएको ८ वर्ष भए पनि अहिलेसम्म जम्मा करिब ५० जनाको मात्र प्रत्यारोपण भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.