भक्तपुरमा यस बर्ष डेंगी संक्रमण उच्च फैलिने जोखिम

असार १३, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरमा यस बर्ष डेंगी संक्रमण उच्च फैलिने जोखिम

भक्तपुर। यस बर्ष भक्तपुरमा डेंगी संक्रमण उच्च फैलिने जोखिम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य कार्यालयले भक्तपुरले देशैभरका ७२ जिल्लामा करिव १४ सय भन्दा बढीमा डेंगी सक्रमण पुष्टि भइसकेकाले लामखुट्टेवाट जोगिन आग्रह गरेको छ । 

हाल सम्म भक्तपुरमा मात्रै तीस जनामा डेंगी सक्रमण देखिएको र काठमाडौमा यो बर्ष हाल सम्मकै उच्च १ सय ४० जनामा डेंगी संक्रमण देखिएको जनस्वाथ्य कार्यालयका प्रमुख अन्जना खड्काले बताउनुभयो । उपत्काका तीन वटै जिल्लाका पुराना शहरहरुमा घना बस्ती र जोडिएका घरहरु रहेकाले यो सक्रमण फैलिने दर उच्च रहेको उहाँले बताउनुभयो । डेगी सक्रमण जोखिमका हिसावले भक्तपुर १० औ स्थानमा रहेको बताइएको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले डेगी सक्रमणवाट जोगिन लामखुट्टेको लार्भा नष्ट गर्न 'खोज र नष्ट गर ' अभियानलाई जिल्लाका चारवटै स्थानीय तहमा एक दिन संचालन गरिने बताउनुभयो । उहाँले जिल्ला स्वास्थ्य संस्थाहरुलाई डेंगी सक्रमितको उपचारका डेंगी परिक्षण किट तथा औषधीहरु तयारी अवस्थामा राख्न निर्देशन समेत दिनुभयो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति पर्शुराम पाण्डेले डेंगी सक्रमण फैलिएसँगै रगतमा पाइने प्लेटलेटको माग पुरा गर्न नसकिने भएकाले यस बर्ष रगतको पनि बन्दोवस्त गर्नुपर्ने बताउनुभयो । जिल्लामा गत बर्ष ६ हजार भन्दा वढीलाई डेंगी सक्रमण देखिएको थियो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।