आन्दोलनरत आवासीय चिकित्सकले तोकेको तलब सुविधा पाउँछन् : मन्त्री पौडेल

वैशाख १५, २०८२ |सुन्दर शिल्पकार
आन्दोलनरत आवासीय चिकित्सकले तोकेको तलब सुविधा पाउँछन् : मन्त्री पौडेल

भक्तपुर । स्वस्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकहरुलाई ४८ हजार ७ सय रुपैयाँ दिने भनेर स्वास्थ्य मन्त्रालयलले पहिले नै निर्णय गरिसकेको तर निजी मेडिकल कलेजहरुले लागू नगर्दा चिकित्सकहरु आन्दोलित भएको बताउनु भएको छ । 

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्रि नगरपालिका अस्पतालको १७औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले आवासीय चिकित्सकहरुले पाउनुपर्ने सुविधा नपाए सरकारले निजी मेडिकल कलेजहरुलाई कुनै सहयोग नगर्ने चेतावनी दिनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्र अत्यावश्यक र संवेदनशील भएकाले चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएर काममा फर्कन आग्रह समेत गर्नुभयो । सरकारलाई दवाव दिन आन्दोलनका नाममा स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्र बन्द गरेर बिरामीलाई दुःख नदिन मन्त्री पौडेलले आन्दोलनरत चिकित्सकहरुलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नेपाल कोरिया मैत्रि नगरपालिका अस्पताल नगरबासीका साथै सबै सेवाग्राहीका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दत्तचित्त रहेको बताउनु भयो । 

वार्षिकोत्सवकै दिन पारेर आजदेखि  अस्पताललमा ब्लड बैंकको समेत स्थापना भएको छ । ब्लड बैंकको मन्त्री पौडेलले उदघाटन गर्नुृभएको थियो । मध्यपुर थिमि नगरपालिकाले नगरबासीलाई निःशुल्क रक्तसेवा प्रदान गर्दै आएको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।