तापक्रम बढ्न थाल्यो, गर्मीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामी पनि बढे

वैशाख १०, २०८२ |कृपाल गौतम
तापक्रम बढ्न थाल्यो, गर्मीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामी पनि बढे

काठमाडौं । पछिल्ला केही दिनदेखि देशभर तापक्रम बढ्ने क्रममा छ । विशेषगरी मध्य तथा पश्चिमी तराईको तापक्रम ४० डिग्री कटिसकेको छ । यससँगै गर्मीजन्य समस्या लिएर अस्पताल आउने बिरामी बढ्न थालेकाले सतर्कता अप्नाउन चिकित्सकहरुले सुझाएका छन् । 

मंगलबार मध्य तथा पश्चिमी तराईको तापक्रम ४० डिग्री नाघेको छ । अझै ३ दिन पानी पर्ने सम्भावना नभएकाले तापक्रम अझै बढ्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको मौसमबारे मौसमविद् विनु महर्जन भन्नुहुन्छ, 'विशेष गरेर मध्य र पश्चिमी तराईका भूभागमा तापक्रम ४० कै हाराहारीमा रहने जस्तो देखिन्छ । बाँकी भूभागको कुरा गर्नु पर्दा कोशी प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागमा तापक्रम चै त्यस्तो धेरै बढ्दैन किनभने ती स्थानमा अलिकति बदली हुने र गण्डकी र कोशी प्रदेशका थोरै स्थानमा वर्षाको पनि सम्भावना छ ।' 

तापक्रम वृद्धिसँगै मानिसहरुलाई दिउँसोका बेला हिँडडुल गर्न, खेतबारीमा काम गर्न र नियमित काममा निस्कनसमेत समस्या हुन थालेको छ।

अस्पतालहरुमा पनि झाडापखाला, टाइफाइड, रुघाखोकी लगायतका समस्या लिएर आउने बिरामीको संख्या बढ्न थालेको छ । काठमाडौंको टेकु अस्पतालमा मात्र गर्मीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामी २५ प्रतिशतले बढेका छन् । अरु अस्पतालहरुमा पनि समस्या उस्तै छ । कतिपय बिरामीलाई त भर्ना नै गरेरसमेत उपचार गर्नु परिरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौला भन्नुहुन्छ, 'गर्मीले गर्दा बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । ओपिडीमा दैनिक १ हजार बिरामी आएको देखिन्छ । जसमध्ये धेरैजसो झडापखाला, रुघाखोकी, निमोनिया र टाइफइडका बिरामी छन् । र, इमरजेन्सीमा पनि अधिकांश बिरामी ज्वरो, रुधाखोकी र झाडापखालाको समस्या लिएर आइराख्नु भएको छ, जुन यो गर्मीको कारणले गर्दा बढेको देखिन्छ ।'

यो समयमा जथाभावी खानपान नगर्न चिकित्सकहरुले सुझाएका छन् । काम नपरी घर बाहिर नहिँड्न, हिँड्नै परे छाता वा शरीर छोप्ने कपडा लगाउन, सडेगलेका खाना नखान, पानी प्रशस्त पिउन तथा पानी उमालेर वा निर्मलीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

बेलैमा सतर्कता अपनाए गर्मीका कारण देखिन सक्ने समस्याबाट जोगिन सकिने भएकाले सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।