काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू वैशाख ११ गतेदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन् ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघले यस्तो चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा डा. तेजशु मल्लले वैशाख ११ गते देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूले माइतीघर मण्डलमा जम्मा भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने बताउनुभयो । उहाँले २८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र उदासीन भएको आरोप लगाउनुभयो ।
उहाँले निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिन आग्रह गर्नुभयो । निजी मेडिकल सञ्चालकले मानसिक दबाब दिएर आत्मसम्मानमाथि गम्भीर प्रहार गरेको उहाँको भनाइ छ । उहाँले आन्दोलन व्यक्तिगत स्वार्थको लागि नभई सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति २०८२ वैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यकाका भित्रका सम्पूर्ण चिकित्सकलाई माइतीघरमा जम्मा भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं । साथै २४ घण्टासम्ममा हाम्रो माग सम्बोधन नभए देशभरिका आकस्मिक तथा सघन उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं । चिकित्सकहरूको आत्मसम्मानको यो आन्दोलन सफल पार्न देशभरका नागरिक, नागरिक समाज, पेशागत सगठन मेडिकल सोसाइटीहरू, बुद्धिजीवीहरू तथा पत्रकार लगायत सम्पूर्ण नेपाली चिकित्सक संघ हार्दिक आह्वान गर्दछौं ।”
संघले सर्वसाधारणमा पर्न गएको असुविधाप्रति संघले माफी माग्दै यसको सम्पूर्ण जिम्मेवार सरकार हुने जनाएको छ ।