काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरुले सरकारले स्रोतको सुनिश्चितता गरे आवासीय चिकित्सकहरुलाई आठौं तहको सुविधा दिन तयार रहेको बताएका छन् ।
आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सरकारी चिकित्सकसरह पाउनुपर्ने माग गर्दै २४ दिनदेखि आन्दोलनमा छन् । मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसन अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले सरकारले स्रोतको सुनिश्चितता गरिदिए आवासीय चिकित्सकलाई आठौं तहको सुविधा दिन तयार रहको बताउनु भयो । सरकारले स्नातक तहको सिट संख्या वृद्धि वा आर्थिक सहयोग गर्नुपर्ने निजी मेडिकल कलेजहरुको माग छ ।
यता, स्वास्थ्य मन्त्रालयले चिकित्सा शिक्षा आयोगको निर्णय नमान्ने निजी मेडिकल कलेजहरुसँगको सहकार्यमा पुनर्विचार गर्ने चेतावनी दिएको छ । त्यसबाहेक आयोगको निर्णय नमानेमा मेडिकल कलेज निलम्वन वा खारेजसम्म पनि हुनसक्ने मन्त्रालयको चेतावनी छ ।
आन्दोलनरत चिकित्सकहरुले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । उनीहरुले काठमाडौंको माइतीघर तथा देशभरका प्रशासन कार्यालयमा धर्ना दिन समेत चिकित्सकहरुलाई आहवान गरेका छन् ।