काठमाडौं । नेपाल औषधि लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजलको उत्पादन रोकेको छ । सरकारले औषधि खरिद प्रक्रिया अगाडि नबढाउँदा सरकारी स्वामित्वको औषधि लमिटेडले औषधि उत्पादन बन्द गरेको हो ।
कच्चा पदार्थको ठूलो परिमाण खरिद गरेर उत्पादन बढाइए पनि सरकारका विभिन्न निकायहरूले औषधि खरिद नगरेपछि बजारमा बिक्री ठप्प हुँदा उत्पादन नै बन्द गर्नुपरेको औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरूले बताउनुभयो । उहाँका अनुसार लिमिटेडमा हाल १.५ करोड रुपैयाँ बराबरको औषधि स्टकमा थन्किएको छ । जसमध्ये सिटामोल र जीवनजल सबैभन्दा धेरै छन् ।
२०७९ चैत्र २० गते औषधि लिमिटेडलाई २० प्रकारका औषधि उत्पादन गराउन सरकारले २४ करोड रकम दिने निर्णय भएको थियो । तत्कालीन मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गठित समितिले स्वास्थ्य, उद्योग र अर्थ मन्त्राललाई नेपाल औषधि लिमिटेडको सुधार योजना पठाउने र त्यसलाई तीन मन्त्रालयले समन्वय गरेर कार्यान्वयनमा निर्णय समेत गरेको थियो । त्यही आधारमा लिमिटेडले दुई चरणमा काम गरेर १० प्रतिशत औषधि उत्पादन वृद्धि गरेको भए पनि त्यो रकम अझै पाउन नसकेको महाप्रबन्धक पनेरूले बताउनुभयो ।
औषधि उत्पादन १० प्रतिशतले बढाएको भए पनि गत वर्षको जति पनि औषधि उत्पादन गर्न नसकिएको उहाँको भनाइ छ ।