सिरहा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ। मुख्यमन्त्री सिंहले शनिबार साँझ मिर्चैयामा सञ्चालित १४ वटा निजी अस्पतालमा छड्के अगुमन गर्नुभएको हो ।
जसमध्ये १३ वटा अस्पताल बन्द गराइएको मुख्यमन्त्री सिंहले जानकारी दिनुभएको छ । सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर बन्द गराइएको उहाँले बताउनुभयो ।
यसैगरी, शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक पनि बन्द गराइएको छ । ती अस्पतालमध्ये अधिकांश दर्ता नरहेको र कतिपय नवीकरण नभएर पनि अवैध रूपमा चल्दै आएको उहाँको भनाइ छ ।
यसैगरी, मापदण्ड विपरित सञ्चालित मनकामना मिड इस्टर्न अस्पताललाई १५ दिने पत्र काटिएको छ । यो अस्पतालले १५ बेडको मात्रै स्वीकृति पाए पनि अवैध ढंगले त्यसभन्दा बढी सेवाहरू सञ्चालन गर्दै आएको पाइएको छ । अब यो अस्पतालले १५ दिनभित्र स्वास्थ्य मन्त्रालयबाट अनुगमन गराउनुपर्नेछ ।
अवैध रुपले सञ्चालित बन्द गराइएका अस्पतालमध्ये सिद्धकामना हस्पिटलका दुई कर्मचारी पक्राउसमेत परेका छन् । अस्पतालमा बिरामी भर्ना भएपनि अनुगमन टोली जानेबित्तिकै सटर बन्द गरेर भाग्न खोजेका दुई कर्मचारीलाई प्रहरीको जिम्मा लगाइएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत संतोष कुमार ठाकुरले बताउनुभयो ।
यस्तै, मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुंगेरिया स्वीट्स एन्ड चाट हाउसको कारखाना सिल गरिएको छ । खाने कुरा बनाउँदा अखाद्य तथा कुहिएका बस्तु प्रयोग गरिएको र जथाभावी फोहोरमैला देखिएपछि कारखाना सिल गरिएको हो ।
आइतबार सम्बन्धित निकायले यो कारखानाबाट नमूना संकलन गरेर लाने र त्यसको जाँच गरी सञ्चालकलाई प्रचलित कानुन बमोजिम कारवाहीको दायरामा ल्याइने मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।