बर्दिया । सदरमुकाम गुलरियामा ५३ भन्दा बढी निजी अस्पताल, पोलिक्लिनिक, फार्मेसी र प्याथोलोजी ल्याब अवैध रुपमा सञ्चालनमा रहेको पाइएको छ । नियमित अनुगमन नहुँदा जनस्वास्थ्यमा खेलाँची भइरहेको स्वास्थ्य कार्यालय गुलरियाले स्वीकारेको छ ।
बर्दियाको गुलरियामा लुम्बिनी प्रदेश स्वास्थ्य विभागबाट इजाजत नलिई ५३ वटा निजी अस्पताल, पोलिक्लिनिक, फार्मेसी, प्याथोलोजी ल्याब सञ्चालनमा रहेको भेटिएको हो । इजाजत र दर्ता प्रक्रिया नै पुरा नगरी सञ्चालनमा आएका निजी स्वास्थ्य संस्थालाई तत्काल प्रक्रिया पूरा गर्न निर्देशन दिइएको स्वास्थ्य कार्यालय गुलरियाका स्वास्थ्य प्रमुख शिवकुमार चौधरीले जनाउनु भयो ।
नियमित अनुगमन नभएका कारण अवैध रुपमा औषधि पसल खोल्नेको संख्या बढ्दै गएको छ । बर्दियामा अवैध रुपमा सञ्चालनमा आएकाको संख्या यकिन हुन नसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा रहेका नियमक निकाय र औषधी व्यवस्था विभागले चासो नदिएका कारण अवैध औषधी व्यवसायीमाथि कारवाही हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् ।