नेपालमा क्षयरोगबाट बर्सेनि करिब १८ हजारको मृत्यु, नयाँ उपचार विधि सुरु भएको तीन दशकमा पनि घटेनन् बिरामी

चैत्र ११, २०८१ |कृपाल गौतम
नेपालमा क्षयरोगबाट बर्सेनि करिब १८ हजारको मृत्यु, नयाँ उपचार विधि सुरु भएको तीन दशकमा पनि घटेनन् बिरामी

काठमाडौं । नेपालमा बर्सेनि झन्डै ७० हजार क्षयरोगी थपिने गरेको आंकलन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गरेको छ । तर गत वर्ष त्यसको ५५ प्रतिशत अर्थात् ४० हजार ७ सय ७६ बिरामी मात्र पहिचान भए । डब्ल्यूएचओले क्षयरोगकै कारण बर्सेनि १६ देखि १८ हजार व्यक्तिको मृत्यु हुने गरेको बताइरहँदा सरकारी संयन्त्रमा १२ देखि १४ सयको मात्र मृत्यु हुने गरेको अभिलेख छ । 

सरकारले सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने र २०५० सम्ममा उन्मूलन गर्ने लक्ष्य लिए पनि बिरामी पहिचान गर्नै कठिन भइरहेको छ ।

नेपालमा पहिलो पटक सन् १९३७ मा काठमाडौंको टोखाबाट क्षयरोगको उपचार सुरु गरिएको भयो । तर उपचारको विधि प्रभावकारी थिएन । बिरामीलाई घाममा राख्ने, व्यायाम गर्न लगाउने जस्ता विधि अपनाउने गरिन्थ्यो । सन् १९८९ मा क्षयरोग केन्द्र स्थापना भयो । त्यसको ७ वर्षपछि १९९६ देखि डट्स विधि अर्थात चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सुरु भयो । जुन विधि अहिले पनि अपनाइँदै आएको छ ।

क्षयरोग के हो ?

यो एक प्रकारको माइकोब्याक्टेरीयम ट्युबरक्लोसीस भनिने जिवाणुबाट हुने संक्रमण हो, जुन स्वास प्रस्वासको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्छ । यो ७० प्रतिशत फोक्सोमा हुन्छ । फोक्सोको बाहिर प्ल्युरा, ग्रन्थी, पेट, मष्तिस्क, हड्डिलगायतका अंगमा लाग्ने सम्भावना ३० प्रतिशत हुन्छ । क्षयरोग प्रारम्भिक औषधिले काम गर्ने वा नगर्ने आधारमा दुई प्रकारको हुन्छ । एउटा डिएसटिबी र अर्को डिआरटिबी अर्थात् साधारण र ओषधि प्रतिरोगी ।

नेपालमा क्षयरोगको प्रभावकारी उपचार सुरु भएको करिब ३० वर्ष भए पनि बिरामीको संख्या तथा मृत्युदर उच्च छ । विश्व स्वास्थ्य संगठनले नेपालमा वर्षेनी झन्डै ७० हजारको हाराहारीमा क्षयरोगका बिरामी थपिने आँकलन गर्छ । तर गत वर्ष ४० हजार ७ सय ७६ बिरामी मात्र पहिचान भए । यसैगरी औषधि प्रतिरोध क्षयरोगका बिरामीको संख्या ३ हजार हुने अनुमान गरिए पनि गत वर्ष ७ सय ५६ मात्र पहिचान भए । तीमध्ये ६ सय ३३ मात्र उपचारमा आए । हरेक वर्ष ठूलो संख्यामा बिरामी पत्ता लाग्दैनन् । क्षयरोगकै कारण नेपालमा बर्सेनि १६ देखि १८ हजारको मृत्यु हुने अनुमान छ । तर १२ देखि १४ सय मात्र रिपोर्ट हुन्छन् ।

क्षयरोग नियन्त्रणका लागि ग्लोबल फन्डले दिने ५० करोडसहित सरकारले बर्सेनि डेढ अर्बभन्दा बढी रकम विनियोजन गर्छ । यसमध्ये प्रदेश र स्थानीय तहले मात्र १ अर्ब हाराहारी खर्च गर्छन् । तर अझै पनि क्षयरोग नियन्त्रणका लागि ४३ प्रतिशत बजेट अपुग रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । हुन त सरकारले सन् २०३५ सम्म टिबीको महामारी अन्त्य गर्ने र सन् २०५० उन्मूलन गर्ने लक्षय लिएको छ । तर अहिलेको अवस्थामा लक्ष्य भेट्न मुस्किल छ ।

क्षयरोग नियन्त्रणमा बर्सेनि ठूलो बजेट खर्च भए पनि बिरामीको संख्या तथा मृत्यु दर उच्च छ । यसको मुख्य कारण बिरामी पहिचानमा समस्या हुनु । पहिचान भएका सबै बिरामी उपचारमा नआउनु । उपचारमा आएकाहरुले पनि औषधी खान बीचमै छाड्नु

तथा सरकारका नीती, कार्यक्रम र रणनीति प्रभावकारी नहुनु् लगायतका कारणले वर्षौसम्म पनि क्षयरोग उन्मुलन हुन सकेको छैन भने सरकारले लिएको लक्ष्य भेट्टाउन पनि मुस्किल भइरहेको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।