पाल्पा । पाल्पा अस्पतालले आफ्नो १ सय १३ औं स्थापना दिवसका अवसरमा सेवानिवृत्त कर्मचारी, लामो समयदेखि कार्यरत कर्मचारीका साथै व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान गरेको छ ।
पृथ्वीचन्द्र अस्पताल, पाल्पा हेल्थ सेन्टर हुँदै अहिलेको पाल्पा अस्पतालमा परिणत भएपनि स्थापना दिवस पहिलो पटक मनाएको हो । यो अस्पताल राजा पृथ्वीबीर र प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सुरू भएको हो ।
यो अस्पताल सात रोपनी जग्गामा रहेको छ । अस्पताललाई आर्थिक वर्ष २०७७/७८ देखि लुम्बिनी प्रदेश सरकारले ५० शैय्याको अस्पतालको रुपमा स्तरोन्नती गरेको छ । तर अहिलेसम्म भौतिक पूर्वाधार अभावले गर्दा सेवामा गुणस्तर वृद्धि हुन सकेको छैन ।
लुम्बिनी प्रदेश सरकारको ५० लाख र पाल्पा अस्पतालको २० लाख गरी ७० लाखमा ठेक्का भएको बहिरंग विभागको ट्रस भवन निर्माण गर्न स्वास्थ्यमन्त्री खेम बहादुर सारुले शिलान्यास गर्नुभएको छ । अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्ने वातावरण मिलाउनुपर्ने र उपकरण जडान गर्नुपर्ने स्वास्थ्यमन्त्री सारुले वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बताउनुभएको छ ।
पाल्पा अस्पतालमा ११ औं तहको कार्यालय प्रमुखसहित १२ जनाको विशेषज्ञ चिकित्सक तथा ६ जना मेडिकल अधिकृतको दरबन्दी सहित ६४ जनाको स्वीकृत दरबन्दी रहेको छ ।
अहिले स्थायी पदपुर्ति २७ जना, दरबन्दी, करार, कार्यक्रम, छात्रवृत्ति तथा समिति करार गरी ८४ जना कर्मचारी कार्यरत रहेको अस्पतालका अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षमा ९८ हजार ७ सय २७ जना र चालु आर्थिक वर्षको माघ महिनासम्ममा ५३ हजार ८ सय ५० बिरामीले सेवा लिएका छन् । यस वर्षको उत्कृष्ट कर्मचारी फार्मेसीकी मधु खड्कालाई सम्मान गरिएको छ ।