महोत्तरी । मधेश प्रदेशका आठै जिल्लामा रहेका अधिकांश स्वास्थ्य संस्थामा चरम बेथिति देखिएको छ । उपचारमा लापरबाही, मनोमानी शुल्क असुल्ने र लापरबाही घटना ढाकछोप गर्ने प्रवृत्ति निजी अस्पतालमा धेरै छ । सरकारी निकायबाट नियमन र कारबाही नहुँदा वर्षौंदेखि विनास्विकृति थुप्रै अस्पताल सञ्चालन भइरहेका छन् ।
विनादर्ता सञ्चालनमा रहेका मध्ये एक हो महोत्तरीको बीके हस्पिटल । यो अस्पताल महोत्तरीको गौशाला नगरपालिका-५, जिरोमाइलमा विगत ४ वर्षदेखि सञ्चालनमा छ । १५ बेडको यो अस्पतालमा बिरामीहरू उपचार गरिरहेका छ्न् । महोत्तरीमै दर्ताविना चलिरहेको अर्को अस्पताल हो, रौनक हेल्थ केयर प्रालि । मनरा शिशवा नगरपालिका-७, सरपल्लो चोकमा रहेको यो हेल्थ केयर दर्ताविना वर्षौंदेखि सञ्चालनमा छ ।
गाउँघरका धेरै मानिसहरू उपचार गराउँदा आफू ठगिने गुनासो आउने गरेको यी अस्पताल र पोलिक्लिनिकमा सरकारको निगरानी हुनुपर्नेमा त्यसो हुन नसकेको सेवाग्राहीको गुनासो छ । सेवाको नाममा ठगी धन्धा मच्चाउनेलाई हदैसम्मको कारबाही गर्न सेवाग्राहीले सरकारलाई गुहारेका छन् ।
“गौशालामा राम्रो उपचार पनि हुँदैन, पैसा पनि बढी लिन्छन् । नेताहरूले अस्पताल चलाएका छन् । कसैले कारबाही गर्दैन”, गौशाला महोत्तरीका सेवाग्राही विष्णु साहले बताउनुभयो ।
रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालनमा रहेको १५ बेडभन्दा बढीको निजी अस्पताल प्रदेशमा दर्ता छ भने पालिकाभित्र सञ्चालनमा रहेको ५ अस्पताल दर्ता प्रक्रियामा रहेको छ । त्यस्तै गौर नगरपालिकामा सञ्चालनमा रहेको १५ निजी अस्पतालमध्ये केहीको नवीकरण हुन सकेको छैन भने ६ अस्पताल विनादर्ता सञ्चालनमा रहेको छ । रौतहटको गरुडामा दर्ता रहेको १४ अस्पतालमध्ये १० को नवीकरण हुन सकेको छैन ।
यस्ता अस्पताललाई हालसम्म कुनै निकायबाट न त अनुगमन भएको छ, न त कारबाही । कानुन विपरीत खुलेआम यी अस्पतालहरू चलिरहँदा पनि सरकारी निकाय मूकदर्शक बनेको छ ।
सेवाग्राहीहरूको चरम गुनासोपछि मुख्यमन्त्री शतीसकुमार सिंहले जनकपुर आसपासका क्षेत्रमा अनुगमन गरिरहँदा मधेश प्रदेशकै अन्य जिल्लाहरूमा स्वास्थ्य संस्थाको बदमासीप्रति स्थानीय प्रशासनको सक्रियता र अनुगमन आवश्यक छ ।