बागमती प्रदेश सरकार थप अन्यौलग्रस्त

नवनियुक्त मन्त्रीहरुको सपथ आज, मुख्यमन्त्री लामालाई पद छाड्न बानियाँको आग्रह
श्रावण १५, २०८२ |बालकृष्ण अधिकारी
बागमती प्रदेश सरकार थप अन्यौलग्रस्त

मकवानपुर । बागमती प्रदेश सरकारको अन्यौल चुलिएको छ । आन्तरिक लोकतन्त्रका नाममा सत्तारुढ नेपाली कांग्रेसले बागमती प्रदेशमा आफ्नै नेतृत्वको सरकार ढाल्ने कसरत गरेसँगै प्रदेश सरकार थप अन्यौलग्रस्त भएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामाले नवनियुक्त मन्त्रीहरुलाई आज सपथ गराउँदै हुनुहुन्छ भने नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री लामाले इमान्दारीपूर्वक पद छाड्न आग्रह गर्नुभएको छ । लामाले सहज रुपमा सत्ता नछाडे पद्धति र प्रक्रियाबाट बिदाइ गर्ने बानियाको चेतावनी छ ।

मुख्यमन्त्री लामाले हिजो गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह दिउँसो १ बजेका लागि तय भएको छ ।

हिजो भएको संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामालाई हराउँदै इन्द्रबहादुर बानियाँ संसदीय दलको नेतामा चयन हुनुभएको थियो । बानियाँले कांग्रेसका बहुमत प्रदेश सभा सदस्यहरु आफ्नो पक्षमा भएकाले लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आउनु भएको छ । तर पार्टी प्रदेश संसदीय दलको नेताको हैसियत गुमाए पनि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा नदिएपछि संवैधानिक रूपमा उनलाई हटाउन कठिन हुने देखिएको छ ।

प्रदेशसभामा कांग्रेसका ३७ सांसदमा बानियाँको पक्षमा २२ र लामाको पक्षमा १४ मत परेको थियो । एक मत बदर भएको थियो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।