काठमाडौं । २५ वर्ष अगाडि दिदी बिरामी हुँदा वीर अस्पतालमा कुरुवा बस्नुभएको थियो देवेन्द्र देवकोटा । त्यति बेला अस्पताल जे जस्तो भद्रगोल थियो, २५ वर्षमा हविगत उस्तै पाइरहनुभएको छ ।
“खै त्यति प्रगति भए जस्तो चाहिँ मलाई महसुस भएन । एउटै बेडमा तीन चार जना, इमर्जेन्सीमा पनि । अनि आउने बित्तिकै जुन व्यवहार हुनुपर्ने हो त्यति मैले देखिनँ”, देवकोटाले भन्नुभयो, “कहिले यता कहिले उता । केही सोध्दा एउटा व्यक्तिले भनिदिनुपर्ने नि, त्यो पनि छैन ।”
वीर अस्पताल स्थापना भएको १३६ वर्ष भइसकेको छ । १५ शय्याबाट सुरु भएको अस्पतालमा यो अवधिमा धेरै सुविधा थपिएका छन् । सामान्यदेखि अति विशिष्टकृत सेवा अस्पतालले दिँदै आइरहे पनि उपचार सेवामा नागरिकका गुनासा भने थुप्रै छन् ।
के अस्पतालको सेवा प्रवाह सुधार हुनै नसक्ने विषय हो ?
अस्पतालको दाबी भने छुट्टै छ । अस्पताल प्रशासन पहिलेभन्दा धेरै सुविधा थप भएको तर सेवाग्राही बढ्दा अपेक्षित सेवा दिन नसकेको स्वीकार्छ ।
“हाम्रोमा बिरामीको संख्या बढेको छ, अप्रेसन पनि त्यत्तिकै सङ्ख्यामा बढेको छ । अब धेरै मान्छे आएपछि केही मान्छेको गुनासो रहने केहि मान्छेको समस्या रहने भई नै हाल्छ । त्यसलाई चाहिँ हामीले पोजिटिभली नै लिनुपर्छ”, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेतले बताउनुभयो ।
अस्पतालले गत आर्थिक वर्ष २०८१/८२ मा मात्र ६ लाख ४७ हजारलाई बहिरंग सेवा दिएको छ । ३५ हजार १४१ जनाले आकस्मिक सेवा पाएका छन् भने २६ हजार ४४६ जनाको शल्यक्रिया भएको अस्पतालको तथ्यांक छ । बिरामीको बढ्दो चाप र अस्पतालको क्षमतामा कहाँ तादात्म्य मिलेन त । जसले गर्दा सेवा प्रवाह गरेर पनि न अस्पताल खुशी छ न त सेवाग्राही नै ।
धेरै गुनासो आउन थालेपछि आकस्मिक सेवाको स्तरोन्नति गर्नुका साथै आईसीयू र शल्यक्रिया सेवालाई प्राथमिकता दिएर अघि बढेको अस्पतालले जनाएको छ । तर ४६० शय्या हुँदा १ अर्ब बजेट पाउने गरेकोमा ९६० शय्या पुर्याउँदा पनि बजेट नबढेको अस्पताल अधिकारीहरूको गुनासो छ । त्यसबाहेक विशिष्टकृत चिकित्सक र दरबन्दी अनुसार नर्सिङ जनशक्ति पर्याप्त नभएको समस्या त छँदैछ ।
“यो अति विशिष्टकृत अस्पताल भएको हुनाले विशेषगरी जनशक्ति चाहिन्छ, यसमा पनि हामीलाई सबैभन्दा बढी समस्या त नर्सिङ जनशक्तिको छ । नर्सिङ जनशक्ति पर्याप्त हुने हो भने हामी आईसीयूको, वार्डको, अप्रेसनको धेरै सेवा दिन सक्छौं । यो दुइटा कुरा सरकारले प्राथमिकताको साथ हेर्नुपर्छ भन्ने हाम्रो अनुरोध छ”, डा. बस्नेतले भन्नुभयो ।
अस्पतालले सरकारको नीतिअनुसार विपन्नका लागि दिने छुटदेखि नि:शुल्क सेवासम्म दिइरहेको छ । तर बीमाबापतको सेवा दिए पनि सोधभर्ना नपाउँदा ठूलो आर्थिक समस्या झेल्नु परिरहेको अस्पतालको भनाइ छ । अहिले यो रकम ५० करोडभन्दा बढी छ ।
वीर अस्पतालमा समस्याका चाङ नै भए पनि सेवा सुधारको विषयलाई सरकारले प्राथमिकतामा राखेको देखिएको छैन । यसबाट के थाहा हुन्छ भने मुख्य समस्या त दरबन्दीअनुसारको स्वास्थ्य जनशक्ति तथा पर्याप्त बजेट उपलब्ध गराउनेदेखि व्यवस्थापन सुधार ध्यान नदिएकाले भएको रहेछ । अनि किन विश्वास र भरोसा गर्नुको साटो गुनासो नगरोस् त एउटा बिरामी र उसको आफन्तले ?