भक्तपुर । भक्तपुर अस्पतालमा डायलाइसिस सेवाको सुभारम्भ भएको छ ।
बागमति प्रदेशअन्तर्गतको भक्तपुर अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा शुभारम्भ भएको हो। मिर्गौलाका बिरामीका लागि अत्यावश्यक डायलाइसिस सेवाको बुधबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले उद्घाटन गर्नुभएको हो ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले १६ वटा मेसिन खरिद गरी पाँच थान डायलाइसिस मेसिन भक्तपुर अस्पताललाई उपलब्ध गराएको हो । बागमति प्रदेशका रसुवा र काठमाडौंबाहेक अन्य ११ जिल्लाका अस्पतालमा प्रदेश स्तरिय डायलाइसिस सेवा सुरू भएको मन्त्री थापाले बताउनुभयो । अस्पतालकी पूर्वनिर्देशकसमेत रहेकी बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले बताउनुभएकाे छ ।
‘न्यूनतम सेवा मापदण्डअनुसार बी ग्रेडका अस्पतालमध्ये देशकै सर्वोत्कृष्ट अस्पताल बनेको भक्तपुर अस्पताल प्रदेशले गर्व गर्नलायक अस्पतालको रूपमा विकास भइरहेको उहाँको भनाइ छ ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको नर्सिङ तथा सामाजिक सुरक्षा विभागले सूचीकृत गरी अनुमति दिएसँगै डायलाइसिस सेवा सुरू गरिएको र एक हप्ता पछि विभागले नि:शुल्क सेवाको सुविधा दिएपछि मात्र विरामीले नि:शुल्क उपचार सेवा पाउने भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताउनुभयो ।
सुरूमा दैनिक ४ जना विरामीलाई यो सेवा दिने र जनशक्ति थपेर यो सेवा दैनिक तीन सिफ्टसम्म सेवा सञ्चालन गरी एकै दिन १२ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गर्न सकिने निमित निर्देशक डा. भट्टले बतउनुभयो ।
भक्तपुर अस्पतालकै परिसरभित्र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भए तापनि यसले मिर्गौला रोगीको चाप धान्न सकेको छैन । प्रत्यारोपण केन्द्रले डायलाइसिसको समय नदिएपछि दैनिक दर्जनौँ बिरामी निजी क्लिनिकमा डायलाइसिस गराउन बाध्य छन् । कति पाए विरामीले पालो पाउनै छ महिना सम्म कुर्नु पर्ने बाध्यता छ ।
भक्तपुर अस्पतालमा भने डायलाइसिस सेवा नि: शुल्क हुने बागमती प्रदेश सभाका पूर्वसदस्यसमेत रहेका अस्पताल विकास समितिका अध्यक्ष शशिजंग थापाले बताउनुभयो ।