काठमाडौं । नेपालले सन् २०२६ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आफ्नो आधिकारीक वेब साइटमार्फत् यसबारे जानकारी गराएको हो । यो नेपालले हालसम्म आयोजना गरेको सबैभन्दा ठूलो आईसीसी प्रतियोगिता हो ।
प्रतियोगिता यसै वर्ष पुस २८ देखि माघ १९ गतेसम्म आयोजना हुने छ । १० देशको सहभागिता रहने छनोट प्रतियोगिताका शीर्ष चार टोलीले सन् २०२६ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
छनोट प्रतियोगितामा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । त्यसपछि सुपर सिक्स चरणमार्फत् शीर्ष चार टोलीले सन् २०२६ को महिला टी-२० विश्वकपमा स्थान पक्का गर्ने छन् । प्रतियोगिताको समूह विभाजन र खेल तालिका चाडै सार्वजनिक गरिने आईसीसीले जनाएको छ ।
नेपालले एसिया क्षेत्रीय छनोटमार्फत् पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको हो भने थाइल्यान्ड पनि एसिया छनोटमार्फत् अघि बढेको हो । अमेरिका क्षेत्रबाट अमेरिका छनोट भइसकेको छ । बाँकी पाँच स्थान अफ्रिका र युरोपबाट दुई-दुई टोली र पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट एक टोली छनोट भएपछि निर्धारण हुनेछ ।
बंगलादेश र आयरल्यान्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागी भएकै आधारमा स्वतः ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका छन् ।
दसौं संस्करणको महिला टी-२० विश्वकप इंग्ल्यान्ड र वेल्समा सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म आयोजना हुनेछ । प्रतियोगिताभर कुल ३३ खेल हुनेछन् । फाइनल ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा हुनेछ ।