काठमाडौं । आज विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर सरकारले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको हो ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको हो । मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिइनेछ ।
यस अभियानमा १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइनेछ ।
विद्यालयका १८ हजार ९ सय र बाहिर ८ हजार २ सय खोप केन्द्रमा २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अभियानमा ५४ हजार १ सय ६० स्वयंसेवक खटिनेछन् भने १५ हजार ६ सय ७४ जना सुपरीवेक्षक संलग्न हुनेछन् ।
नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपीभी खोप लगाइन्छ । विश्वमा यो खोपको सफल परीक्षण भइसकेको छ । विश्व स्वास्थ्य संगठनले मान्यता दिएको यो खोप १ सय ४५ भन्दाबढी देशमा प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय खोप कार्यक्रममा एचपीभी समावेश गर्न सरकारले यसअघि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिसकेको छ ।