काठमाडौं । उत्तरी चीनमा फ्लु जस्तै लक्षण भएको श्वासप्रश्वास सम्बन्धी रोग ‘ह्युमन मेटा न्यूमोभाइरस’ अर्थात् एचएमपीभीको बिरामीको संख्या बढ्दै गएको केही पश्चिमा समाचारमाध्यमले उल्लेख गरेका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
एचएमपीभी भाइरसले सामान्यतः माथिल्लो श्वासप्रश्वास प्रणालीमा प्रभाव पारे पनि कहिलेकाहीँ तल्लो श्वासप्रश्वास प्रणालीमा समेत संक्रमण गर्न सक्ने बताइएको छ । सामाजिक सञ्जालमा हालिएका भिडिओ र तस्वीरहरूमा अस्पतालहरूमा बिरामीको बढ्दो चाप देखाइए पनि अधिकारीहरूले भने बाहिर हल्ला गरिए जस्तो नभएको दाबी गरेका छन् । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सामान्यतः जाडो याममा श्वासप्रश्वास सम्बन्धी संक्रमण बढ्ने गरेको बताउनुभएको छ । चीन सरकार आफ्ना नागरिक र विदेशी पर्यटकको स्वास्थ्यबारे संवेदनशील रहेको भन्दै उहाँले चीन यात्रा सुरक्षित रहेको समेत उल्लेख गर्नुभएको थियो ।
करिब डेढ साताअघि चीनको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासनले अज्ञात कारणजन्य निमोनियाको अनुगमनका लागि एउटा निगरानी प्रणाली स्थापना गर्न लागेको औपचारिक जानकारी गराएको थियो । पछिल्लो समय फेला परेका बिरामीमा राइनो भाइरस र एचएमपीभी जस्ता विषाणुहरू देखिएको रोयटर्सले उल्लेख गरेको छ । खासगरी १४ वर्षमुनिका बालबालिकामा एचएमपीभीको संक्रमण बढ्दो क्रममा देखिएको जनाइएको छ ।
के हो एचएमपीभी ?
एचएमपीभी र कोभिड-१९ भाइरस दुई भिन्न भाइरस परिवार अन्तर्गत परे पनि यसको संक्रमणका लक्षणहरू भने धेरै हदसम्म मेल खाने बताइएको छ । दुवै हाछ्युँ गर्दा वा दूषित सतह वा संक्रमित व्यक्तिसँगको सम्पर्कबाट सर्न सक्छन् । दुवैमा ज्वरो, खोकी, सुक्खा घाँटी, श्वासप्रश्वासमा समस्या लगायतका लक्षण देखिने गर्छन् ।
“चीनमा कोभिड जस्तै श्वासप्रश्वासको समस्याहरू देखिइरहेको छ । त्यसका कारण अस्पताल भर्ना हुनेको संख्या पनि बढेको छ । यसलाई एचएमपीभी भनिन्छ । सामान्यतः यो भाइरसको संक्रमण जाडो याममा धेरै देखिन्छ । तर यो कोभिड जतिको घातक छैन त्यसैले धेरै डराउनु त पर्दैन”, वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर नवीनप्रकाश साहले भन्नुभयो ।
चीनसँग सीमा जोडिएको देश भएकाले र नियमित हवाई उडान हुने भएकाले नेपालमा पनि यो रोगको सावधानी भने अपनाउनुपर्ने डाक्टर साहले बताउनुभयो । यो भाइरसको संक्रमणले निमोनियासम्म हुनसक्ने उहाँले बताउनुभयो ।
कोभिड विरुद्धको भ्याक्सिन उपलब्ध भए पनि एचएमपीभी विरुद्धको भ्याक्सिन भने अझै विकसित गरिएको छैन । नेपालमा भने एचएमपीभीका बिरामी फेला नपरेको चिकित्सकहरूले बताएका छन् ।