
काठमाडौं । रक्षापंक्ति सुधारमा परिणाम पर्खिरहेको नेपाली महिला फुटबल टोली अहिले इन्डोनेसिया र नाइचिज ताइपेईसँग ट्राइ नेसन्स कप खेल्ने इन्डोनेसिया गएको छ ।
भारत र इरानसँगको मैत्रीपूर्ण खेलमा सहभागी भएपछि एक हप्ताको प्रशिक्षण सकेर प्रशिक्षक नविन न्यौपाने खेलाडी लिएर पूर्वी एसियाली मुलुक गएका हुन् । राष्ट्रिय टिम र क्लबको लगातार प्रतियोगिता भइरहेकोले महिला टिम राम्रो सेपमा छ । तर साफ च्याम्पियनसिपलाई मिसन बनाएको टिमले मनोबल भने उच्च बनाउनुपर्नेछ ।
फिफा वरीयतामा चाइनिज ताइपेई ४२औं स्थानमा छ । आयोजक इन्डोनेसिया १०६औं र नेपाल ८९औं स्थानमा छन् । तर अहिले इन्डोनेसियासँग विश्वका उत्कृष्ट ओभरसिज लिग खेल्ने अब्बल खेलाडी भएकोले मैदानमा नेपाललाई यी टिमसँग भिड्न सहज छैन । त्यसमाथि चोटका कारण सावित्रा भण्डारी टिमबाहिर छिन। गीता राना पनि म्याच फिट छैनन् ।
फरवार्ड र डिफेन्सका मेस्ट्रो यी दुई खेलाडीको अभाव नेपाललाई हुनेछ । सावित्रालाई चोट लागेकै समयमा राष्ट्रिय टिममा स्थान बनाएकी प्रिती राई भने टिमको मिडफिल्डमा जमेकी खेलाडी हुन् । प्रशिक्षक न्यौपाने भने सिनियरको अभाव युवा खेलाडीका लागि अवसर हुने बताउँछन् ।
प्रशिक्षक न्यौपानेसहित नेपाली टोलीको लक्ष्य छ-लगातार फर्ममा राखेर टिमलाई राम्रो नतिजा दिलाउने र महिला साफ च्याम्पियसिपमा सफलता हात पार्ने । अनि एसियन कप खेल्ने र विश्वकपमा पुग्ने त्यसपछिको रणनीति हो । त्यसका लागि नेपाली महिला खेलाडीको एक्सपोजर र ओभरसिट लिगमा अनुबन्धनको बाटो टिमले रोजेको छ ।
सावित्रा, एन्जिला सुब्बा, प्रिती राई, रेखा पौडेल र पूजा रानाले पाइरहेको व्यवसायिक फुटबल खेल्ने अवसर टिमको सम्पत्ति पनि हो । यस्तोमा इन्डोनेसिया र चाइनिज ताइपेईसँगको नतिजाले नेपाली खेलाडीलाई लक्ष्यमा पुग्न सघाउने छ । तर अहिले नेपाली टिमको मुख्य समस्या नै डिफेन्समा छ । भारत भ्रमणमा पनि कमजोर डिफेन्सको समर्थकले आलोचना गरेका थिए । यो समस्यालाई टिमले कसरी समाधान गर्छ त ?
इन्डोनेसियाको प्रतियोगिताका लागि नेपालले ८ दिनको मात्रै तयारी गर्न पायो । लगातारका खेलका कारण तयारी समय कम भए पनि इन्डोनेसियामा मैत्रीपूर्ण खेलमा नेपाली टिमले नतिजालाई ध्यानमा राखेर खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल बुधबारनै इन्डोनेसियासँग र मंसिर १६ गते चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिमका यी सबै खेल साफ च्याम्पियनसिपको तयारीकै लागि हुन् ।