धनकुटामा निर्माणाधीन अस्पताल भवनको काममा ढिलासुस्ती

मंसिर ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटामा निर्माणाधीन अस्पताल भवनको काममा ढिलासुस्ती

धनकुटा । निर्माण कम्पनीको अलमलका कारण धनकुटामा निर्माणाधीन अस्पताल भवनको काममा ढिलासुस्ती भइरहेको छ ।

धनकुटा नगरपालिका-७ स्थित रेशम खेती विकास कार्यालयको नाममा रहेको २४ रोपनी जग्गामा जिल्ला अस्पताल धनकुटाको पाँचतले सुविधासम्पन्न भवन निर्माणाधीन छ । भवन निर्माणका लागि कोशी प्रदेश सरकारको तत्कालीन शहरी विकास तथा भवन कार्यालयले २८ करोड ३६ लाख ५२ हजार रूपैयाँमा विराटनगरको नमुना कन्सट्रक्सन प्रालीसँग २०८० साल असारमा ठेक्का सम्झौता गरेको थियो । 

गत आर्थिक वर्षमा अपेक्षाअनुसार काम अघि नबढ्दा विशेष अनुदानबाट प्राप्त १४ मध्ये ४ करोड रूपैयाँ मात्रै खर्च भएको पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तम नरायण खरेलको भनाइ छ । चालु आर्थिक वर्षका लागि भने ६ करोड ६५ लाख रूपैयाँ बिनियोजन भएको छ । 

४० प्रतिशत भौतिक प्रगती देखिएको आयोजनाका लागि कार्यालयले निर्माण कम्पनीलाई ३४ प्रतिशत अर्थात् ९ करोड ५४ लाख रूपैयाँ भूक्तानी गरिसकेको छ । निर्माणाधीन यही भवनमा प्रादेशिक अस्पताल सञ्चालन गर्ने योजना छ । भवन निर्माणका लागि तोकिएको म्याद आगामी २०८३ असार सम्म मात्रै छ । 

सम्झौताको साँढे दुई वर्षमा भवन निर्माणको काम जम्मा ४० प्रतिशत मात्रै पुरा भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.