सीमावर्ती क्षेत्रका वासिन्दालाई विशेषज्ञ सेवा लिन स्वास्थ्य शिविरकै भर, ९ सय बढी लाभान्वित

मंसिर ५, २०८२ |अर्जुन सुवेदी
सीमावर्ती क्षेत्रका वासिन्दालाई विशेषज्ञ सेवा लिन स्वास्थ्य शिविरकै भर, ९ सय बढी लाभान्वित

सुनसरी । भारतीय सीमावर्ती क्षेत्रका स्थानीयलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले सुनसरीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ९ सय २९ जनाले सेवा लिएका छन् । 

विशेषज्ञ चिकित्सक सेवा लिन स्वास्थ्य शिविरकै भर पर्नुपर्ने बाध्यता रहेको सीमावर्ती क्षेत्रका बासिन्दाको लागि सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय पकली र ४ नम्बर गण सुनसरीको आयोजना तथा कोसी गाउँपालिकाको समन्वयमा शुक्रबार भएको शिविरमा सर्वसाधारणको घुइँचो लागेको थियो । 

पूर्व क्षेत्रीय सशस्त्र प्रहरी अस्पताल र नोबेल मेडिकल कलेज विराटनगरका विशेषज्ञ चिकित्सक सम्मिलित शिविरमा गरिब तथा विपन्न वर्गका मानिसहरूले भरपुर लाभ लिएको र उनीहरूलाई निःशुल्क औषधि तथा स्वास्थ्य परीक्षण गरी तत्काल रिपोर्ट उपलब्ध गराइएको सशस्त्र प्रहरी बल ४ नम्बर गणका प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयाे । शिविरमा सेवा लिन आउनेहरूलाई अधिकांश महिला तथा बालबालिका बढी रहेको थिए ।

बराह बाहिनीका बाहिनी पति सशस्त्र प्रहरी महानिरीक्षक कुमार न्यौपानेले उद्घाटन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियनसँगै मुटु, छाला, पेट, मधुमेह, थाइराइड र हाड जोर्नी तथा मेरूदण्ड, शिशु तथा बाल रोग समबन्धि विशेषज्ञ सेवा दिइएको थियो । 

त्यसैगरी स्त्री तथा प्रसूति सेवासम्बन्धि विशेषज्ञ सेवा र ल्याब तथा फार्मेसीको सेवा समेत शिविरमा उपलब्ध गराइएको थियो । स्वास्थ्यमा सीमावर्ती क्षेत्रका आम नागरिकको सहज पहुँचलाई पुर्‍याउनका लागि सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको महानिरीक्षक न्यौपानेले बताउनुभयाे । यस प्रकारको शिविर कोशी प्रदेशका अन्य सीमावर्ती स्थानीय तहहरूमा समेत सञ्चालन गरिने न्यौपानेको भनाइ छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।