एनपीएलमा सट्टेबाजी गरेको आरोपमा आठ भारतीय नागरिक पक्राउ

मंसिर ७, २०८२ |खेल ब्युरो
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा आठ भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलमा सट्टेबाजी गरेको आरोपमा आठ भारतीय नागरिक पक्राउ परेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले एनपीएलमा अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको आरोपमा आठ जनालाई पक्राउ गरेको जानकारी दिएको हो। एनपीएलका खेलहरूमा 'बेटाकुलर डट लाइभ' नामक वेबसाइटमार्फत खेलको हार-जितमा सट्टेबाजी गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 

अवैध रूपमा अनलाइन सट्टेबाजी सञ्चालन गरेको पुष्टि भएपछि काठमाडौं महानगरपालिका-१५, बुद्धनगरस्थित एक कोठाबाट विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने आठ जना नै भारत आन्ध्र प्रदेशका रहेको खुलेको छ। पक्राउ पर्नेहरूमा राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, शेख सोयब, नविन माड्डेला, महमद रफी शेख, साई कुमार तम्मिसेट्टी र सेख चन्द बसल रहेका छन्।

मुलुकी अपराधसंहिता २०७४ को दफा १ सय २५ को उपदफा ४ मा सट्टेबाजी गर्न गराउन नहुने व्यवस्था उल्लेख छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भद्रकाली पठाइएको छ।