प्रमाणपत्र तहको स्वास्थ्य शिक्षा अध्यापनका लागि डेढ दर्जन शिक्षण संस्थालाई सम्बन्धन दिने निर्णय

मंसिर ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रमाणपत्र तहको स्वास्थ्य शिक्षा अध्यापनका लागि डेढ दर्जन शिक्षण संस्थालाई सम्बन्धन दिने निर्णय

काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्रमाणपत्र तहको स्वास्थ्य शिक्षा अध्यापनका लागि डेढ दर्जन शिक्षण संस्थालाई सम्बन्धन दिने निर्णय गरेको छ ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नर्सिङ, एचए, फार्मेसीलगायत विषय अध्यापनका लागि ती संस्थाहरुलाई सम्बन्धन दिने निर्णय गरेको उपाध्यक्ष डाक्टर अञ्जनीकुमार झाले जानकारी दिनुभयो । बैठकले ६ वटा शिक्षण संस्थालाई आशयपत्र दिने निर्णयसमेत गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले निजी मेडिकल कलेजहरुमा स्नातकोत्तर तह-पिजी अध्ययनका विषयमा देखिएको विवाद आपसी छलफलबाट समाधान गर्न निर्देशन दिनुभएको छ। आवासीय चिकित्सक अध्ययनका विषयमा देखिएको समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य मन्त्री र आयोगलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।

स्वास्थ्य मन्त्रालयले निजी कलेजका आवासीय चिकित्सकलाई आठौँ तहको सरकारीसरह मासिक ४८ हजार सुविधा कायम गर्न निर्देशन दिएपछि विवाद उत्पन्न भएको हो । बैठकले आयोगको चालु आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम संशोधनसहित पास गरेको सदस्य-सचिव कृष्णा काप्रीले जानकारी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement