कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनिश्तिकालिन ताला, ५८ जना कर्मचारीद्वारा बढुवाको माग

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनिश्तिकालिन ताला, ५८ जना कर्मचारीद्वारा बढुवाको माग

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनिश्चितकालिन ताला लागेको छ ।

लामो समय देखि काम गरिरहेका प्रतिष्ठानका ५८ जना कर्मचारीहरुले बढुवाको माग गर्दै प्रतिष्ठान प्रशासनमा ताला लगाएका हुन् । कर्मचारीहरुको बढुवाको माग गर्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा रीट दर्ता गराएका थिए । अदालतले पनि कर्मचारीहरुलाई प्रक्रिया पुर्याएर लोकसेवा आयोगको परामर्श लिएर बढुवा प्रक्रिया अघि बढाउन आदेश दिएको छ । अदालतको आदेशले बढुवा गर्न ढोका खुला गरिसकेको बेला प्रतिष्ठान पदाधिकारीहरुले अटेर गरिरहेको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम अघि सारेका हुन् ।

यसअघि कालोपट्टी लगाएर काम गर्ने देखि पेन डाउन सम्मको कार्यक्रम गरिसकेका छन् । कर्मचारीहरुको स्तरबृद्धि प्रक्रिया २०८० असोज १ गतेदेखि अगाडि बढाउने कर्मचारी र पदाधिकारीहरु बीचमा सहमति भएको थियो । पदाधिकारीहरुले सहमतिको कार्यन्वयन गर्न मानेनन् । २०८१ भदौ २६ गते अदालतले कर्मचारीको पक्षमा आदेश दिइएको थियो । उनीहरुले असोज १६,कात्तिक ९ गते बढुवा प्रक्रिया अघि बढाइदिन निवेदन दिए । तर पदाधिकारीहरुले कुनै कदम चालेनन् ।

कात्तिक २७ र २८ गते भएको वार्तामा प्रतिष्ठानको कार्यकारी परिषद बैठकले निर्णय गरेर सभा बैठकमा अनुमोदन गराउने निर्णय भएको थियो । सोही अनुसार २८ गते प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह अघि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको सभा बैठकले कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने सैदान्तिक सहमति दियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने निर्णय सभाबैठकले गरेको सम्बोधनमै भन्नुभएको थियो । कर्मचारीहरु आफ्नो पक्षमा निर्णय भएको भन्दै उत्साहित बने ।

तर सभाले दिएका सैदान्तिक सहमति पनि पदाधिकारीले उलंघन गरेको भन्दै आक्रोशित कर्मचारीले प्रतिष्ठान प्रशासनमा ताला नै लगाए ।

आन्दोलनका कारण प्रतिष्ठानका नियमित सेवा सबै ठप्प छन् । अस्पतालका आकस्मिक सेवा चलिरहेको छ । समयमै माग संवोधन हुन नसकेमा सेवा ठप्प पार्ने चेतावनी कर्मचारीको छ । प्रतिष्ठानमा हाल ४ सय भन्दा बढि कर्मचारी रहेकोमा ७५ जना मात्रै स्थायी छन । सबै करारका कर्मचारी हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement