तिहारको खानपान : स्वास्थ्यलाई ध्यान दिने कि स्वादलाई ?

कार्तिक १५, २०८१ |कृपाल गौतम
तिहारको खानपान : स्वास्थ्यलाई ध्यान दिने कि स्वादलाई ?

काठमाडौं । देशभर तिहारको रौनक छ । गाउँ–सहर जताततै झिलिमिली भएको छ । तिहारमा पूजाआजा र खानपानलाई विशेष महत्त्व दिइन्छ । यो बेला चिल्लो र गुलियो खानेकुराको बढी प्रयोग हुन्छ । अझ तिहारका बेला पकाइएका सेलरोटी त बासी बनाएरसमेत खाने गरिन्छ । यसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्ने चिकित्सक बताउँछन् ।

तिहार भन्नेबित्तिकै सेलरोटी र मिठाइको प्रसँग आइहाल्छ । भाइमसलाले तिहारको खान्कीमा थप स्वाद भर्ने भइहाल्यो । मिठाइमा चिनीको मात्रा र चिल्लोको मात्रा बढी प्रयोग हुन्छ । सहर होस् कि गाउँ, तिहारमा प्रयोग हुने सेलरोटी त बासी पनि ताजा जत्तिकै स्वाद मानी मानी खानेहरू पनि छन् ।

स्वाद एकातिर छ, तर यस्ता परिकार बढी खाँदा र बासी बनाएर खाँदा स्वास्थ्यमा गम्भीर पर्ने असर भने गम्भीर हुन सक्छ । चाडपर्वको बेला झाडापखाला लाग्नु, आफैंले खाएको परिकारका कारण वाकवाकी लाग्नु वा पेटै दुखेर चाडको खुसीमा रम्न नपाउनु त राम्रो पनि नहोला । अझ दीर्घ रोग भएकाहरूले त झनै सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ ।

मात्रा मिलाएर खाने हो भने हानी हुँदैन चाडको बेला भन्दै चिल्लो र गुलियो खाँदा जोखिम हुन सक्छ । खानपानमा हरियो तरकारी, फलफूल र दहीकोसमेत प्रयोग गरे समस्या कम गर्न सकिन्छ । तर आफूले खाइरहेको औषधि भने बिर्सनुहुन्न । साथै चाडबाडका बेला हो भनेर स्वास्थ्यमा देखिएका समस्याको पछि उपचार गराउँछु भनेर बस्न नहुने चिकित्सकको भनाइ छ ।

चाडपर्वका बेला हुने खानपानमा हुने हेलचेक्र्याइँका कारण धेरै मानिसको स्वास्थ्यमा समस्या देखिने गरेको अनुभव चिकित्सकहरूको छ । त्यसैले सन्तुलन मिलाएर खानपान गरे मात्र जोखिमबाट बच्न सकिन्छ । अब भन्नुस्, तिहारको समय हो भन्दै अनियन्त्रित र बासी खानेकुरा पनि खाने कि स्वास्थ्यलाई बढी प्राथमिकता दिने ? निर्णय र स्वास्थ्य दुवै तपाईंकै ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement