सरकारी अस्पतालमा जन्मनासाथ बालबालिकाको अपांगतासहित ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारी अस्पतालमा जन्मनासाथ बालबालिकाको अपांगतासहित ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

काठमाडौं । नेपालका प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपांगतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गर्नु भएको हो ।

जन्मनासाथ थाहा पाउन सकिएमा बालबालिकालाई अपांगतासहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जनाउनु भयो ।

निर्णयसँगै बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण हुनेछ । यसैगरी, सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ ।

बालबालिकाको जन्डिससम्बन्धी परीक्षणसमेत ती अस्पतालहरुमा हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

विश्वमा ६ प्रतिशत बालबालिकामा जम्ननासाथ अपांगताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनहरुले देखाएका छन् ।

नेपालमा नवजात शिशुमा अपांगतासम्बन्धी समस्या कम गर्न यो निर्णय महत्वपूर्ण हुने मन्त्री पौडेलको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement