काभ्रेमा डेंगी संक्रमितको संख्या ३२४ पुग्यो

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेमा डेंगी संक्रमितको संख्या ३२४ पुग्यो

काभ्रे । काभ्रेमा आज एकै दिन ७ जनामा डेंगी संङ्गक्रमण पुष्टि भएको छ । पछिल्लो दुई महिना यता डेंगी संक्रमणका बिरामी बढ्दै गएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या ३ सय २४ पुगेको छ । तीमध्ये १ सय ६१ महिला र १ सय ६३ पुरुष छन् । संक्रमण पुष्टि हुनेको संख्या दैनिक बढिरहेको तथ्यांकले देखाएको छ । हिजोसम्म ३ सय १७ रहेको संख्या आज ३ सय २४ गुगेको हो

डेंगी संक्रमित बनेपा नगरपालिकामा सबैभन्दा बढी १२० जना, धुलिखेल नगरपालिकामा ५२ जना, पनौती नगरपालिकामा ५७ जना, पाँचखाल नगरपालिकामा २० जना, नमोबुद्ध नगरपालिकामा १२ जना, मण्डनदेउपुर नगरपालिकामा २२ जना रहेका छन् ।

यस्तै भुम्लु गाउँपालिकामा २४ जना, रोशी गाउँपालिकामा १० जना, तेमाल गाउँपालिकामा १ जना, बेथानचोक गाउँपालिकामा ३ जना, महाभारत गाउँपालिकामा १ जना, चौंरीदेउराली गाउँपालिकामा २ जना देखिएको छ ।  खानीखोला गाउँपालिकामा भने अहिले सम्ममा संक्रमित नदेखिएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको हो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.