काठमाडौंमा रगत अभाव

आश्विन १६, २०८१ |कृपाल गौतम
काठमाडौंमा रगत अभाव

काठमाडौं । मागअनुसारको रगत संकलन हुन नसकेपछि काठमाडौंमा रगत अभाव देखिएको छ । बाढी, पहिरो र डेंगीलगायतका कारण रगतको माग बढेको छ । तर यही बेला दाताको संख्या घटेकाले रगतको माग धान्नै हम्मे-हम्मे परेको हो । रगत नपाएकै कारण कतिपय बिरामीका आफन्त भौंतारिइरहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा, काठमाडौंले हप्तामा ८ सयदेखि १ हजार युनिट रगत संकलन गर्ने गरेको थियो । यति रगतले बल्लतल्ल माग धानिँदै आएको थियो । तर असोज लागे यता रगत संकलन घट्न थालेको छ । अझ शुक्रबार र शनिबारको भारी वर्षा र दसैंको चहलपहल बढेसँगै रगत संकलन घटेको छ । अहिले हप्तामा मुस्किलले ४ सय यूनिट मात्र रगत संकलन हुने गरेको रक्त सञ्चार सेवाले जनाएको छ । डेंगी र प्राकृतिक विपद्का कारण माग बढेका बेलै रगत कम संकलन भएकाले माग धान्नै नसकिने अवस्था आएको हो ।

त्यसो त रक्त सञ्चार सेवाले बाढी, पहिरो र डुवानका कारण आफ्ना नियमित क्याम्पहरु पनि सञ्चालन गर्न सकेको छैन । त्यसमाथि चाडबाडको बेला भएकाले रक्तदान गर्नेहरु पनि कम आउन थालेका छन् । यसले काठमाडौंका विभिन्न अस्पतालबाट रगत लिन आउनेहरु निराश भएर र्फकन बाध्य छन् । अस्पतालमा बिरामी रगत नपाएर छटपटाइरहेका बेला आफन्तहरु कसरी जोहो गर्ने भन्नै हैरानीमा छन् ।

सरकारले अस्पतालहरुलाई रगतको माग कम गर्न निर्देशन दिने भन्दा कसरी दाताहरुबाट संकलन गर्न सकिन्छ भन्नेमा सोच्नुपर्ने हो । त्यसतर्फ मन्त्रालयको ध्यान नै गएको छैन । अहिले काठमाडौंमा मात्र रगतको अभाव देखिए पनि भावी दिनमा देशका अन्य अस्पतालहरुमा पनि माग बढे त्यसको पूर्ति कसरी गर्ने भन्ने अहिले नै नसोच्ने हो भने समस्या बढ्न सक्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement