मौसम परिवर्तनसँगै कान्ति बाल अस्पतालमा बिरामीको चाप

दैनिक उपचारका लागि पुग्ने १ हजार बालबालिकामध्ये ७० प्रतिशतमा रुघाखोकीको समस्या
आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
मौसम परिवर्तनसँगै कान्ति बाल अस्पतालमा बिरामीको चाप

काठमाडौं । देशको एक मात्र केन्द्रीय बाल अस्पतालमा बिरामीको संख्या बढेको छ । मौसममा परिवर्तन हुन थालेसँगै कान्तिबाल अस्पतालमा बिरामीको चाप बढेको हो ।

अस्पतालका अनुसार मौसमी रुघाखोकी, डेंगी, निमोनियालगायतको समस्या लिएर आउनेहरु धेरै छन् । अघिल्लो महिनासम्म प्रतिदिन झन्डै ७ सय बिरामी आउने गरेकोमा अहिले दैनिक १ हजारको हाराहारीमा उपचारका लागि आउने गरेका छन् । ७० प्रतिशत त रुघाखोकीको समस्या लिएर आउने गरेको अस्पतालले जनाएको छ । बिरामीको चाप बढेपछि उपचार गर्नै अस्पताललाई हम्मेहम्मे परेको छ ।

कान्ति अस्पतालमा अघिल्लो महिना ३ सय जनाको डेँगी परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको थियो । २० जनालाई त अस्पताल भर्ना गरेरै उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । अहिले पनि अस्पतालमा ३ जना डेंगीका बिरामी भर्ना भएका छन् ।

यो अस्पतालको वार्डमा मात्रै अहिले २ सय २४ बालबालिकाको उपचार भइरहेको छ । बालबालिकालाई कडा ज्वरो आएमा, स्वास फेर्न गार्हो भएमा, ओठ-मुख निलो भएमा तुरुन्तै अस्पताल पुर्याउनुपर्ने चिकित्सक बताउँछन् ।

अस्पतालले दसैंअघिसम्म बिरामीको चाप नै रहने अनुमान गरेको छ । मौसम परिवर्तन हुने बेला बालबालिकाको स्वास्थ्यमा सतर्कता अपनाउनसमेत अस्पतालले आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement