जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु

भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु

कैलाली । क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । थप चार जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणबाट घोडाघोडी नगरपालिका-५ का ९ वर्षीय बालक र वडा- ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो । गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा संक्रमण पुष्टि भएको छ ।

गौरीगंगामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँच महिने बालकमा संक्रमण पुष्टि भएको हो । गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन् ।

पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफ्लाइटिस रोग सर्ने गर्छ । यसको टोकाइपछि धेरै टाउको दुख्ने, ज्वरो आउने र विस्तारै मष्तिष्कमा समेत असर पर्ने भएकाले समयमा उपचार नपाए ज्यानै जाने चिकित्सक बताउँछन् ।

प्रभावित क्षेत्रमा थप संक्रमण फैलिन नदिन स्वास्थ्य निकायले उच्च सावधानी अपनाएको छ । प्रभावित क्षेत्र आसपासमा खोपको पहुँच बढाउने, तत्काल प्रभावकारी उपचार व्यवस्था मिलाउने र सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको छ । संक्रमण देखिएको पाँच सय मिटर वरिपरिका १ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने तयारी छ ।

असोज मध्यसम्म लामखुट्टेको जोखिम रहने भएकाले राति सुत्दा झुलको प्रयोग गर्न, बेलुकी पख घरबाहिर निस्कँदा शरिर ढाक्ने खालका कपडा लगाउन र घरआसपासमा सरसफाइ गर्न चिकित्सकले सुझाव दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement