छाला उद्योगबाट निस्कने दुर्गन्धले बिरामी पर्न थालेपछि सुनसरीका स्थानीय आन्दोलित

श्रावण २१, २०८१ |अर्जुन सुवेदी
छाला उद्योगबाट निस्कने दुर्गन्धले बिरामी पर्न थालेपछि सुनसरीका स्थानीय आन्दोलित

सुनसरी । सुनसरी मोरङ औद्योगिक करिडोरअन्तर्गत दुहबी ६ मा सञ्चालित दुईवटा छाला उद्योगबाट निस्कने दुर्गन्धले बिरामी पर्न थालेको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।

युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयहरू आन्दोलित बनेका हुन् । छालाको प्रशोधन तथा भण्डारण उपयुक्त नभएकोले ती उद्योगबाट वरिपरिको बस्तीमा दुर्गन्ध फैलिने गरेको स्थानीय कुन्दन पासवानले बताए । उद्योगले फोहोर पनि सिधै बुढीखोलामा मिसाउने गरेको छ ।

यसैबीच दुहबी नगरपालिकाको न्यायिक समितिमा स्थानीयको उजुरीपछि उपप्रमुख सहितको टोलीले सोमबार उद्योगको अनुगमन गरेको दुहबी नगरपालिका उपप्रमुख मेनुका पोखरेल खतिवडाले बताउनु भयो ।

तीन दशकअघि स्थापित यी उद्योग बीच बीचमा बन्द फेरि खुल्ने हुँदै आइरहेका छन् । विगतमा पनि मापदण्डविपरीत सञ्चालन गरेको भन्दै उद्योगलाई पटकपटक जरिवाना गरेपनि अटेर गर्ने गरेका छन् ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।