
काठमाडौं । पोषणको क्षेत्रमा नेपालमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा कुल बजेटको ११ प्रतिशत खर्च हुने गरे पनि अझै बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण बन्ने गरेको छ ।
जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले ५२ प्रतिशत बालबालिकाको मृत्युको अप्रत्यक्ष कारण कुपोषण हुने गरेको जनाएको हो । जबकि नेपालमा स्वास्थ्य, कृषि, खानेपानी, शिक्षालगायत ७ मन्त्रालयले पोषणको क्षेत्रमा प्रत्यक्ष-अप्रत्यक्ष काम गरिरहेका छन् भने यसैका लागि कुल बजेटको करीब ११ प्रतिशत खर्च हुने योजना आयोगको भनाइ छ । स्वास्थ्य सेवा विभागका अनुसार सरकारले पोषणको क्षेत्रमा ठूलो लगानी तथा जनशक्ति खर्च गरे पनि मन्त्रालयबीच समन्वय अभाव तथा अन्य क्षेत्रले अपनत्व नलिइदिँदा समस्या देखिएको हो ।
२०२२ कै सर्वेक्षण अनुसार कुपोषणका कारण देखिने समस्यामध्ये नेपालमा २५ प्रतिशतमा पुड्कोपन, १९ प्रतिशतमा कमतौल र ८ प्रतिशतमा ख्याउटोपनको समस्या छ । २०३० सम्ममा दिगो विकासको लक्ष्य भेटाउन पुड्कोपनलाई १५ प्रतिशत, कमतौललाई १० प्रतिशत र ख्याउटोपनको समस्यालाई ४ प्रतिशतमा झार्नुपर्ने हुन्छ । जुन कठिन रहेको स्वास्थ्य सेवा विभागको भनाइ छ । पौस्टिक आहारको पहुँच र महत्व नबुझ्दा पनि समस्या देखिरहेको जानकार बताउँछन् ।